Print

बजेटमा असन्तुलन : पर्वतका सडकहरुमा संघबाट ५ लाखका योजना (योजनाको विवरण सहित)


२ असार, पर्वत । संघीय सरकारबाट प्रस्तुत भएको आगामी आर्थिक बर्षको बार्षिक योजनामा चरण असन्तुलन कायम भएको छ । प्रचण्ड नेतृत्वको सरकारले ल्याएको आर्थिक बर्ष २०८०\८१ को बजेटमा असन्तुलीत बजेट वितरण प्रक्रिया अपनाइएको हो ।
सदनमा छलफलकै चरणमा रहेको आगामी आर्थिक बर्षको बजेटमा देशभरका अधिकांश जिल्लाहरुमा बजेट असन्तुलन देखिएको भनेर सांसदहरुले विरोध गरीरहेको बेलामा पर्वत जिल्लामा पनि त्यसको छिक्रो देखिएको छ ।


बजेटमा सन्तुलतको अवधारणालाई लत्काएको वर्तमान बजेटमा पर्वत जिल्लाका सडक आयोजनाहरुमा भौतिक पूर्वाधार मन्त्रालय मार्फत २ करोड ४० लाख मात्र बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र रणनैतिक सडकहरुलाई १ करोड रकम विनियोजन हुँदा त्यो रकम बढेर ३ करोड ४० लाखमा आउँछ ।


२०७४ साल पछि पर्वत जिल्लामा सवैभन्दा कम बजेट यस पटक विनियोजन भएको छ । गत बर्षहरुमा १ करोड र ५० लाखसम्म रकम विनियोजन भएका सडकहरुमा यस पटक अधिकतम रकम नै विनियोजन छैन । जलजलाको मिलनचोक देखि शालिजा जोडन्े सडकका लागि ७० लाख र सहस्रधारा पाङ ततरकोट सडकका लागि ५० लाख बाहेक कुनै पनि योजनामा ५ लाख भन्दा बढिको रकम विनियोजन देखिदैन ।


भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेका २७ वटा सडकहरु मध्ये बाँकी २५ वटा सडकमा ५ र १० लाख मात्र विनियोजन भएका छन् । संघबाट विनियोजन हुने ठूला सडकहरुमा विनियोजीत उक्त रकम वडाहरुले विनियोजन गर्ने भन्दा पनि न्यून देखिएको छ ।


भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजन रणनैतिक सडक अन्तर्गतको मल्लाज लेकफाँट नागी सडकको १ करोड रकमले उक्त सडकको काम अलपत्र हुने देखिन्छ । बाँकी आयोजनाहरुमा उक्त रकमले कुनै पनि निर्माणको काम अघि बढ्ने देखिदैन ।


सहरी विकास मन्त्रालयबाट भने औचित्यहिन स्थानहरुमा पार्क निर्माणको लागि बजेट विनियोजन भएको देखिन्छ । उक्त मन्त्रालय मार्फत दोविल्ला पकुवा गगटे आर्थर सडकका लागि भने २ करोड ९९ लाख रकम विनियोजन भएको छ । बाँकी आयोजनाहरुका रकम निकै न्यून र थोरै आयोजनाहरु समावेश गरिएको छ । यस मन्त्रालयबाट हुवासमा निर्माणधिन स्मृति सभागृहका लागि भने ५० लाख रकम विनियोजन भएको छ ।


प्रदेश समपुरक अनुदान मार्फत आगामाी बर्ष तिलाहार दराक हुँदै चित्रे राम्जा पकुवाको गगटेसम्मको कालोपत्रेका लागि ९ करोड रकम विनियोजन भएको छ । बाँकी योजनाहरुमा ज्यादै न्यून र कतिपय पालिकाहरुमा बजेट शुन्य प्रायः विनियोजन भएको छ । सरकारको बजेट विनियोजनलाई लिएर सत्ता पक्ष भित्र नै यो विषयमा चरम विरोध भईरहेको छ । सत्तपक्षकै सांसदहरु बजेट संसोधन नगरी पास गर्न नदिने बताउँदै आएका छन भने सरकारले बजेट संसोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आएको छ । अर्को तर्फ प्रतिपक्षी दल एमालेले भने कि बजेट पास हुने कि त फेल हुने भन्दै बजेटमा संसोधन हुन नसक्ने बताउँदै आएका छ ।


सरकारले आगामी बर्षका लागि जारी गरेको बजेट पहूँचवाला सत्तापक्षका नेताहरुको जिल्लामा मात्र अधिक परेका कारण यस पटक पर्वत जिल्लामा समेत बजेट कम परेको देखिन्छ । यस अघिका बर्षहरुमा उल्लेख्य आयोजनामा धेरै बजेट पर्ने गरेको भएता पनि यस पटक भने सत्ता पक्षले बजेटमा गरेको मनोमानीका कारण बजेट कम परेको हो ।