३ असार, पर्वत । बर्षातको मनसुन समयमा शुरु हुन नसक्दा पर्वतका खेत रोपाईमा समस्या परेको छ । असारको पहिलो साता शुरु हँुँदा पनि मनसुन अझै शुरु भएको छैन् । समयमा बर्षात नहुँदा पर्वतका किसानहरुले समयमा धान रोप्न पाएका छैनन् ।
बर्षातको समस्याका कारण धान रोपाईमा समस्या भएपछि कटुवाचौपारीका किसानहरुले भने ट्याक्टरमा पानीको ढुवानी गरेर धान रोपाई गर्न बाध्य भएका छन् ।
असारको पहिलो साता झण्डै २५ प्रतिशत रोपाई सम्पन्न हुनुपर्नेमा हालसम्म जम्मा १५ प्रतिशत रोपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले बर्षात नहु्ँदा धान रोपाईमा समस्या परेको जनाएकोछ । विगतका कतिपय बर्षहरुमा पनि धान रोपाईमा बर्षातका कारण समस्या पर्दै आएको थियो । यस बर्ष पनि धान रोपाईमा समस्यामा समस्या परेको छ ।
जिल्लामा कतिपय स्थानहरुमा आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यतामा कृषकहरु छन् । धान रोपाईका लागि सिंचाइको उपलब्धता नभएको र मुलको पानीको भर पर्नुपर्ने ठाउँमा किसानहरुले धान रोपाई शुरु गर्न सकेका छैनन् ।
सिमखेतहरुमा अझै धान रोपाई शुरु भएको छैन् । टार र फाँटहरुमा पनि सिंचाईको अभाव छ । खोलाहरुबाट सिंचाईको प्रवन्ध भएका केहि स्थानहरुमा मात्र असारको पहिलो साता रोपाई भएकोछ भने बाँकी स्थानहरुमा धान रोपाईमा समस्या भएको छ । समयमा धान रोपाई नहुँदा उत्पादनमा समेत समस्या पर्नेछ ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन शुरु हुन अझै समय लाग्ने जनाएको छ भने खडेरीका कारण रोपाई भएका खेतहरुमा पनि ध्वजा फाँटेका छन् ।




