Print

पर्वतको आर्थिक सम्बृद्धिका सारथी : मध्यपहाडी सडक र कालीगण्डकी लोकमार्ग

१५ पौष, पर्वत । मध्यपहाडी र कालीगण्डकी लोकमार्ग पर्वत जिल्ला हुँदै अगाडि बढछन् । विक्रम सम्बत् २०६९ सालमा ग्राफिय चाटमा मध्यपहाडी लोकमार्गको अवधारणा अघि बढ्यो । यस अघि पोखरा बागलुङ सडकलाई भूमि शेरचन राजमार्ग भनिन्थ्यो । सरकारले मध्यपहाडी लोकमार्गको अवधारणा ल्याएपछि सोहि राजमार्ग मध्यपहाडी लोकमार्गमा परिणत भयो । पूर्वको पहाडी जिल्ला र पश्चिमको पहाडी जिल्लालाई सिधा सम्पर्कमा जोड्नका लागि मध्यपहाडी लोकमार्गको अवधारणा अघि बढेको हो । यो सडक पर्वत जिल्लाको मोदी गाउँपालिका, कुश्मा नगरपालिकाको अधिकांश मध्य भागबाट अघि बढ्छ । मध्यपहाडी लोकमार्ग सडक पूर्वको पाँचथर देखि पश्चिमको वैतडीसम्म पुग्छ । राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण कार्य भईरहेको यो सडकको झण्डै २३ किलोमिटर सडक खण्ड, पर्वत जिल्लामा पर्दछ ।

अर्को तर्फ भारत र चीनलाई जोड्ने सवैभन्दा कम दुरीको सडक कालीगण्डकी लोकमार्गको पर्वत खण्ड पनि दक्षिणको सेतीवेणी देखि उत्तरका माझफाँटसम्म पर्दछ । कालीगण्डकी लोकमार्गमा झण्डै ४५ किलोमिटर भाग पर्वत जिल्लामा पर्छ । यो खण्डको निर्माण कार्य पुरा भएपछि उत्तरको मुस्ताङ र दक्षिणको सुनौलिबाट सवारीहरु चल्नेछन् ।

दुवै सडकको निर्माण कार्य धमाधम अघि बढिरहेको छ । अहिले लोकमार्गको पर्वत खण्डको केहि ट्रयाक्क खोल्न बाँकी रहे पनि अन्य खण्डमा काम भईरहेको छ । यी दुवै सडकमा चल्ने सवारी साधनहरुका कारण पर्वत जिल्लाको आर्थिक सम्बृद्धिको यात्रा भने उत्साहजक हुने अनुमान गर्न सकिन्छ । पछिल्लो समय पर्यटकीय जिल्लाको रुपमा स्थापीत हुदै गरेको पर्वत जिल्ला केहि बर्ष अघिसम्म देश भर गुमनाम जस्तै थियो ।

पर्वतलाई जिल्लालाई चिन्नेको संख्या पनि निकै कम थियो । पछिल्लो समय अग्ला पुल, बन्जी जम्प, जीपलाईनका कारण पर्वत चिनिदै गएको छ । साहसिक खेलहरुको हव बन्दै गएको पर्वतमा देश भरका पर्यटकहरु भित्राउने सजिलो माध्यम मध्यपहाडी लोकमार्ग र कालीगण्डकी लोकमार्ग बन्ने भएका छन् ।

यातायातको सहजता भएपछि मात्रै पर्यटकको फ्लो बढेर जान्छ । प्रचार प्रसारका लागि अहिले सामाजिक सञ्जाल र अन्य मिडियाहरुको उपलब्धता उल्लेख्य छ । यस्तो अवस्थामा कालीगण्डकी करिडोर हुँदै आउने यात्रु पर्वतको सेतीवेणी फलेवास हुँदै कुश्माका साहसिक खेलहरुमा रमाउन पाउनेछन् । मध्यपहाडी लोकमार्ग हुँदै आउने यात्रु पनि कुश्मा बजारका साहसिक खेलहरुमा रमाउने र यहाँको पर्यटकीय गन्तब्यहरुको अवलोकन गर्ने अवसर पाउनेछन् ।

सडक सञ्जालमा चौतर्फी जोडिएको पर्वत जिल्लालाई दुई सडक सञ्जालले मुख्य गरी पर्यटन विकासमा ठूलो योगदान पुराउने सम्भावना देखिन्छ । अर्को तर्फ, उत्पादीत सामानहरुले बजार पाउने र नयाँ बस्ती तथा शहरहरुको निर्माण हुने देखिन्छ । कालीगण्डकी लोकमार्ग र मध्यपहाडी लोकमार्ग कुश्मा नगरपालिका वडा न १ अर्मादीमा जोडिन्छ । यो क्षेत्र दुई सडक जोडिने र छुटिने स्थान भएका कारण यो क्षेत्रमा होटल ब्यवसाय बढने, बजार र बस्तीको विकास र विस्तार हुने देखिन्छ ।

फलेवास र विहादी क्षेत्रमा समेत लोकमार्गका कारण वस्तीहरुको विकास र विस्तार तथा बजारीकरण हुने देखिन्छ । यसले पर्वत जिल्लामा धेरै स्थानहरुमा बजारीकरणको सम्भावना छ । पर्यटनसंगै नयाँ उद्यमहरुको विकास र विस्तार हुने, उत्पादीत सामाग्रीहरुले बजार पाउने कारण रोजगारको सम्भावना बढ्ने गरी यी सडकहरुले पर्वत जिल्लाको आर्थिक विकासमा टेवा पुराउनसक्नेछन् ।