Print

सांसद गिरीको दोस्रो कार्यकालको पहिलो एक्सन : अवरुद्ध योजना सुचारुको पहल

१६ मंसिर, पर्वत । प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि पर्वत जिल्लाबाट निर्वाचित सांसद पदम गिरीले जिल्लामा अवरुद्ध विकास आयोजनाहरु सुचारु गराउन पहल गरेका छन् । विहिबार सडक विभागका प्रमुखसंग भेट गरी जिल्लामा सञ्चालीत तर निर्माण कार्यमय अवरुद्ध भएका आयोजनाहरु सञ्चालनमा ल्याउन पहल गरेका हुन् ।

प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको १ हप्ता भित्र नै गिरी जिल्लाको विकास विकासको काममा जुटेका हुन् । पहिलो कार्यकालमा सञ्चालनमा ल्याएका आयोजनाहरु निर्माण ब्यवसायीका कारण अवरुद्ध छन् । ति आयोजनाहरु सुचारु गरेर तत्काल निर्माण प्रक्रिया शुरु गरे ति आयोजनाहरु समयमा सकिन्छन् तर, निर्माण ब्यवसायी र सरकारी कार्यालयहरुका कारण आयोजनाहरु अहिले अवरुद्ध बनिरहेका छन् ।

झण्डै ९९ करोडको लागतमा निर्माणधिन मालढुंगा वेनी सडक खण्डको निर्माण कार्य रोकिएको छ । सांसद गिरीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई विभागको कार्यालयमा नै भेट गरी आयोजनाको निर्माण कार्य शुरु गराउन निर्देशन दिए । उनले कालीगण्डकी लोकमार्ग अन्तर्गतको लमाएखोला–अर्मादी सडक, सोहि सडक खण्डको लमाएखोला मोटरेबल पुल, दुई जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी माथिको जैमिनिघाट मोटरेबल पुलको काम अगाडि बढाउन समेत निर्देश दिए । यी आयोजनाहरुको काम रोकिएको छ ।

सडक डिभिजन कार्यालयले ठेक्का आब्हान गरी निर्माण कार्य शुरु गरे पछि विगत ७ बर्ष देखि निर्माण कार्य नसकिएको भुरुङ्दी खोला मोटरेवल पुल अहिले पनि अलपत्र अवस्थामा छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको भुकदेराली जोड्ने उक्त पुल निर्माणको लागि गिरीले पुनः विभागको ध्यानाकर्षण गराएका छन् ।

गिरीले कालीगण्डकी करिडोर अन्तर्गत लुवा खोला र बाच्छा खोलामा पुल निर्माणका लागि तत्काल डिपिआर तयार गरि ठेक्का प्रक्रियामा लैजाने ब्यवस्था मिलाउन समेत कार्यालयलाई आग्रह गरे । निर्माण भएको लामो समयसम्म पनि मर्मतको अभावमा जिर्ण बन्दै गएको दोबिल्लामा मोटरेबल पुल निर्माणका लागि डिपिआर तयार गर्ने र ठेक्का प्रक्रियामा लैजाने काममा कार्यालयले तत्काल योनजा बनाउन गिरीले निर्देशन दिएका छन् । पर्वतको पूर्वी दक्षिणी क्षेत्र जोड्ने यो पुल जिर्ण हुँदा यहाँको सवारी आगमनमा समस्या पर्दै आइरहेको छ । गिरीले जलजला गाउँपालिकाको बगरफाँटमा कालिगण्डकी नदी माथि तत्काल बेलिवृज राख्ने प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

एमाले पर्वतका उप सचिव तथा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने सहित गिरी विभागमा पुगी जिल्लाको सडक तथा पुलहरुको कामलाई गति दिन पहल गरेका हुन् । गिरीले मोदी ६ गिज्यान क्षेत्रका लागि आवश्यक मोदी खोलामा मोटरेवल पुल तथा कुश्मा र ज्ञादी क्षेत्र जोड्ने झोप्रे बगर मोटरेवल पुल निर्माणको प्रक्रियाको विषयमा समेत चासो ब्यक्त गरेका थिए । गिरीले कल्लेरीघाट मोटरेवल पुल निर्माण गरी बागलुङ र पर्वतको दुरी छोटाउने कार्यलाई पनि योजनागत रुपमा अघि बढाउन विभागसंग अनुरोध गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने कार्यक्रमलाई स्थगीत गरी गिरी अवरुद्ध आयोजनाहरुको विषयमा ध्यानाकर्षण गराउन राजधानी काठमाण्डौं पुगेका हुन् ।