१६ मंसिर, पर्वत । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार बेहोरे पछि पर्वतमा नेपाली कांग्रेस आन्तरीक समिक्षामा जुटेको छ । स्थानीय तहमा गठबन्धन गरी निर्वाचन लड्दा पालिका प्रमुखहरुमा सन्तोषजनक नतिजा निकालेको कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाका सवै सिट गुमाएको छ । ५ दलिय गठबन्धन बनाएर निर्वाचनमा होमिदा पनि निर्वाचन जित्न नसक्दा पर्वत कांग्रेसको नेतृत्व यति बेला आन्तरीक समिक्षामा जुटेको हो ।
स्थानीय तहको मतपरिणाम अनुसार झण्डै ३ हजार मतले गठबन्धन अघि रहेको थियो । २०७४ सालमा बामगठबन्धनसंग पराजीत भएका कांग्रेस नेता अर्जुन जोशी यहि मतान्तर देखेपछि पुनः प्रतिनिधि सभाका उमेदवार बने । उनी प्रतिनिधि सभामा पाँचौ पटक उमेदवार बनेपनि निर्वाचनको परिणाम जोशीको हातमा परेन । निर्वाचनमा जोशी मात्र होइन यस अघि बामगठबन्धनको तर्फबाट विजयी माओवादी केन्द्रका नेत्रनाथ अधिकारीको निर्वाचन क्षेत्रमा कांग्रेस समेतको समर्थनमा माओवादीका सुदीप कुँवर प्रदेश सभाका उमेदवार बने । उनले पनि जीत निकाल्न सकेनन् ।
औसतमा कांग्रेसको बलियो क्षेत्र मानिने र माओवादीको समेत प्रभाव रहेको प्रदेश सभा २ मा एमालेको फुटको असर पनि देखिथ्यो । उक्त निर्वाचन क्षेत्रमा समेत कांग्रेसका ऋषीकेश तिवारी निर्वाचनमा उमेदवार बने तर उनी पनि असफल भए ।
प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ वटा निर्वाचन असफल भएपछि पर्वतमा गठबन्धन पूर्णरुपमा असफल भएको छ । निर्वाचनमा पराजीत हुनुको कारण खोज्न यति बेला पर्वत कांग्रेसको जिल्ला कमिटि वैठक बसेको छ । वैठकले सवै वडाहरुमा निर्वाचनमा पराजीत हुनुको कारण खोज्ने अभियान सञ्चालन गरेको छ ।
यो वीचमा कांग्रेस पूर्णरुपमा कमजोर हुनु उमेदवार छनौटको प्रमुख कारण रहेको स्वय्म कांग्रेस कार्यकर्ताहरुको भनाई छ । अर्को तर्फ माओवादी केन्द्रसंग स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल नहुँदा पनि अपेक्षाकृतरुपमा गठबन्धनका मतहरु बटुल्न उमेदवारहरु असफल भएका छन् । पर्वत कांग्रेसमा रहेको दुई धार संघर्षको उच्चतम विन्दु केहि महिना अघिबाट पर्वतमा देखा परेको थियो ।
कांग्रेसको जिल्ला अधिवेशनमा कांग्रेस नेता अर्जुन जोशीले आफ्ना सहोदर भाई युवराज जोशीलाई निर्वाचन मार्फत जिल्ला सभापति बनाएपछि पर्वत कांग्रेस भित्र द्धन्द्ध शुरु भएको देखिन्छ । जिल्ला अधिवेशनको प्रभाव स्थानीय तहको निर्वाचनको टिकट वितरणमा समेत देखा पर्यो । संस्थापन पक्षले आफू निकटलाई मात्र टिकट दिएको आरोपमा जिल्लाको संस्थापन इतर समूह असन्तुष्ट बन्दै आएको थियो ।
कांग्रेसले आन्तरीक कारणहरुको खोजी गरेर कांग्रेसलाई थप बलियो बनाउने भन्दै समिक्षा कार्यक्रम अघि बढाए पनि समिक्षाका कारण कांग्रेस भित्रको दुई धार संघर्ष अझै तिव्र हुने देखिन्छ । आज मात्रै जिल्ला सचिव गुप्तनीधि शर्माले एक पत्र सार्वजनिक गर्दै मंसीर ११ गतेको जिल्ला कार्य समितिको वैठकले १ हप्ता भित्र वडाहरुको वैठक मार्फत निर्वाचनको समिक्षाको लिखित प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।
वडा स्तरीय समिक्षाका लागि प्रतिनिधिहरु जिल्लाबाट खटाइएको र उक्त प्रतिनिधिहरुका वीचमा समिक्षा गरी लिखित रुपमा प्रतिवेदन जिल्लामा १ हप्ता पेश गरिने कुरा पत्रमा उल्लेख गरिएको छ । शर्माले गाउँपालिका र नगरपालिकाका सभापतिहरुलाई यस कार्यको लागि समन्वय गर्न समेत अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका स्थानीय तहको टिकट वितरण तथा प्रदेश तथा प्रतिनिधि सभाको टिकट वितरण प्रति अधिकांश जिल्लास्तरीय नेताहरु सन्तुष्ट थिएनन् । पाँचौ पटक उमेदवार बनेका प्रतिनिधि सभाका जोशीले अरु नेताहरुलाई नेतृत्व विकास गर्नबाट बञ्चित गरेको समेत आरोप उनी माथि थियो । प्रदेश सभामा २ का उमेदवार तिवारी भुगोलको राजनीतिमा कम जोडिएको आरोप पनि गठबन्धन कमजोर हुनुको कारण थियो ।
उता, एमाले पाटीका उमेदवारको लोकप्रियताका कारण पनि निर्वाचन परिणाम गठबन्धन विरुद्धमा आएको देखिन्छ । एमालेले युवा नेता पदम गिरीलाई दोस्रो पटक एमालेले उमेदवार बनाएको थियो । गिरी पहिलो कार्यकालमा सफल युवा नेताको दर्ज बनाएर राष्ट्रिय राजनीतिमा ख्याती कमाएका थिए ।
प्रदेश सभामा १ मा पाटीका पुराना र त्यागी नेता भक्त कुवँर उमेदवार बनेका थिए भने पैयू क्षेत्रले लामो समय नेतृत्व खोजी गरीरहेको बेलामा एमालेका पुराना तथा लोकप्रिय नेता मित्रलाल बस्याल प्रदेश सभामा उमेदवार बने ।
यहि वीचमा गठबन्धन र ठूला दलहरुको कार्यशैलीको विरुद्धमा जम्मिएको राष्ट्रिय स्वतन्त्र पाटीको समेत प्रभाव देश भरी परयो । निर्वाचनको सम्मुखमा आएर निर्वाचन जित्नेमा ढुक्क देखिएको गठबन्धन अन्ततः निर्वाचत ठूलो मतान्तरले हारेको हो । एमाले भित्रको आन्तरीक धुबीकरणको फाइदाको प्रतिक्षामा बसेको कांग्रेसले त्यसको लाभ समेत लिन पाएन ।
निर्वाचनमा पराजीत हुनुका कारणहरु गठबन्धनका नेताहरुले हालसम्म पनि औपचारिक रुपमा भने कहि कतै उल्लेख गरेका छैनन् । कांग्रेसको आन्तरीक समिक्षामा यी नै विषयहरुमा छलफल हुने बताइएको छ ।
निर्वाचनमा हारका कारणहरु खोतल्दै कार्यकर्ताहरुलाई कारबाही गर्ने दिशामा कांग्रेस लाग्ने सम्भावना भने छैन् । निर्वाचनमा हार बेहोरेको कांग्रेस जिल्लामा यसै कमजोर अवस्थमा पुगेको देखिन्छ । पाटीले कार्यकर्ताहरु माथि आन्तरीक कारबाहीको प्रक्रिया शुरु गरेको खण्डमा कांग्रेसका थप विग्रह आउने र पाटी अझै कमजोर हुने देखिन्छ ।