Print

विदेशबाट फर्केकाहरुको सुचि बनाइदै, ‘सवैजना जनप्रतिनिधिको निगरानीमा’–प्रवक्ता लामिछाने

१३ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले विदेशबाट फर्केकाहरुको सुचि तयार गर्न शुरु गरेको छ । कोरोना संक्रमित राष्ट्रहरुबाट फर्केका नेपालीहरुमा कोरोनाको संक्रमण हुनसक्ने भन्दै गाउँपालिकाले आफ्ना नागरिकहरुको खोजी कार्य शुरुगरेको हो ।

गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेका अनुसार पालिका भित्रका ८ वटै वडाका वडाअध्यक्षहरुलाई सुचि तयार गर्न लगाइएको छ । आफ्ना वडा भित्र विगत १ महिना भित्र विदेशबाट फर्केकाहरुको विवरण तयार गरी उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडाअध्यक्षहरुले काम गरीरहेका छन ।

केहि वडाहरुले सुचि तयार गरेपनि ठुला जनसंख्या र छरिएको भूगोल भएका वडाहरुको संख्या अझै पनि प्राप्त हुन बाँकी रहेको मोदी ६ का वडाअध्यक्ष समेत रहेका लामिछानेले जानकारी दिए । उनले हालसम्म प्राप्त विवरण अनुसार विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्य अवस्थामा समस्या आउँदा साथ गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरुसंगको समन्वयमा जिल्ला स्तरीय कोराना उपचार अस्पतालमा लगिने ब्यवस्था गाउँपालिकाले मिलाएको प्रवक्ताको भनाई छ । संक्रमित भेटिएमा उनीहरुको निःशुल्क उपचारको समेत प्रवन्ध गाउँपालिकाले गर्ने लामिछानेको भनाईछ  ।

गाउँपालिकाले जिल्लामा भित्रनेहरुको लागि विगत ४ दिन देखि डिमुवा प्रहरी चौकीसंगै हेल्थ डेक्स समेतको सञ्चालन गरीरहेको छ । गाउँपालिका भित्रका नागरिकहरुमा ज्वरो, रुघा, खोकी जस्ता समसया देखिएमा तत्काल सम्पर्क गर्न समेत प्रवक्ता लामिछानेले अनुरोध गरे । उनले घरबाट ननिस्कन सवैलाई आग्रह गर्दै अत्यावश्यक सवै सेवाहरु प्रदान गर्न गाउँपालिका हाइअलर्टमा बसिरहेको समेत जानकारी दिए ।