Print

सांसद गिरीको ध्यानाकर्षण लगतै मध्यपहाडी लोकमार्गको निर्माण कार्य सुचारु

३ भदौ, पर्वत । निर्माणको चरणमा रहेकोे मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम भने रोकिएको थियो । निर्माण कम्पनीले काम रोकेको विषयमा प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले संसद वैठकमा विषय उठाए लगतै उक्त खण्डको काम शुरु भएको छ । राष्ट्रिय गौरबको सडक मध्य पहाडी लोकमार्गको पर्वत खण्ड निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै निर्माण कार्य विचमै स्थगीत गरेको थियो । सडकको निर्माण कार्य अलपत्र परेको विषयमा सांसद गिरीले साउन २६ गतेको प्रतिनिधि सभा वैठकको शुन्य समयमा सडक निर्माण कार्य तत्काल शुचारु गर्न माग गरेका थिए ।
सांसद गिरीले वैठकमा विषय उठाएको एक हप्ता भित्रै सडक निमार्ण कार्य शुरु भएको हो ।

सडकको निर्माण कार्यको जिम्मा पाएको लामा कस्ट्रक्सनका आयोजना संयोजक गोविन्द भुषालका अनुसार निर्माण कार्यको शुरुवात भएको छ । पूर्व वेतनी देखि १ सय ५ जना कामदारले कामको शुरुवात गरेका छन । भने बुधवार थप ४० जना कामदार थपिनेछन । पश्चिम मालढुंगा देखि पनि काम शुरुवात भएको भुषालले जानकारी दिए । संसद वैठकमा सांसद गिरीले सडकमा परेका खाल्डाहरुका कारण यात्रा कष्टकर भएको बताएका थिए । उनले कटिङ गरिएको भीर बर्षातका कारण जतिबेला पनि खस्न सक्ने र त्यसले ठूलो दुर्घटना निम्ताउन सक्ने भन्दै सचेत गराएका थिए । निर्माण कम्पनीले अहिले ५ वटा डोजर प्रयोग गरी भिरबाट खसेको माटो पन्छाउने र सडकका खाल्टाहरु पुर्ने काम गरीरहेको भुषालले जानकारी दिए ।

मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कास्की नयाँपुल देखि पर्वत मालढुंगासम्मको झण्डै २४ किलोमिटर सडक खण्ड पर्दछ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो सडक खण्डको काम ४५ प्रतिशत सम्पन्न भएको छ । मध्य पहाडी लोकमार्ग कार्यायलयका प्रमुख आशिष थापा मगरले सडक खण्डको निर्माण कार्य अव भने नरोकिने बताए । उनले निर्माण कम्पनीका केहि ब्यवस्थापकीय पक्षहरुमा समस्या परेका कारण निर्माण कार्य रोकिए पनि अव भने निर्माण कार्यले गति लिने विश्वास गरे । संसद वैठकमै विषय उठान भएका कारण पनि सडकको निर्माण कार्य समयमा सक्ने गरी कार्यालयले काम शुरु गरेको छ ।

यस सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन सकेको छैन । लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुरुप हुन नसकेको विषयमा यस अघि पनि सांसद गिरीले कार्यालय प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिसंगको वैठक राखि ध्यानाकर्षण गराउँदै आएका थिए । उता, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिले समेत निर्माण नरोक्न अनुरोध गर्दै आइरहेका थिए तर, कार्यालय र कम्पनीले निर्माण कार्यमा तदारुकता नदेखाएसंगै सांसद गिरीले उक्त विषय संसद वैठकमा उठान गरेका थिए । आयोजना संयोजक भुषाल भन्छन–‘हामीले तोकिएको समयमै जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता सहित काम शुरु गरेका छौ ।’ काम धेरै प्रतिशत बाँकी रहेको र निर्माणको समय छोटिदै गएका कारण पनि निर्माण कार्य नरोकिने गरी अघि बढेको बताए । उनले पहिलो चरणमा नाली र ड्रेनको काम सक्ने गरी काम अघि बढेको जानकारी दिए ।

आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको हो । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको कार्यालयले जनाएको छ ।

यो पनि पढौ

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अस्तब्यस्त, संसद वैठकमा सांसद गिरीको गम्भिर ध्यानाकर्षण