३० असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवाका कृषकले बर्षेनी सास्ती बेहोर्नु परीरहेको छ । बर्षातको समयमा सिंचाई कुलोको समेत अभाव हुँदा बर्षेनी रोपाईमा उनीहरुले समस्या बेर्होदै आएका छन । साविक चुवा गाविसका वडा न १, २ र ३ का कृषकहरुलाई बर्षातको भेलको भरमा रोपाई गर्नु परीरहेको छ ।
स्थानीय सुन्दरे खोलाबाट अस्थायी कुलो बनाएर पानी ल्याउने प्रयास गरे पनि कुलो भत्कने, जमिन भाँसिने र मुहानको पानी एक चौथाई पनि खेतवारीसम्म नआउँदा उनीहले सास्ती बेहोर्नु परेको हो । स्थानीय विजयप्रकाश सापकोटा भन्छन–‘पुस्तौ देखि हामीले सास्ती बेहोरेका छौं ।’ सिंचाईको अभावमा साउन महिना लागे पनि मात्र रोपाइ गर्दा पनि पानीको समस्या हुने गरेको उनले बताए । स्थानीयबासी केदार शर्मा भन्छन–‘पञ्चायतको पालामा खनेको कुलोमा बगेको पानीको भरमा रोपाई गर्नु परेको छ ।’ रोपाई पछि खेतमा सिंचाई गर्ने कुनै सम्भावना छैन । शर्माले थपे–‘आकाशे पानीको भरमा सिंचाईमा भर पर्नु परेको छ ।’ खेतबारीमा सिंचाईको अभाव भएको विषयमा दुःखेसो गर्दै स्थानीय कृषक हरीनारायण गिरीले भने–‘सिंचाईको उपलब्धता हुँदा ५ रोपनी फल्ने ठाउँमा ६ रोपनी धान फल्छ ।’
सिंचाई विनाको धान खेती फस्टाउन समस्या देखिएकाले पनि सिंचाई कुलो ब्यवस्थापनका लागि सहयोगको कृषकले सधै हात फैलाए पनि कुलो भने दिगोरुपमा निर्माण हुन सकेको थिएन । चालु बर्ष कृषकको दुःखेसो सम्बोधन गर्न प्रतिनिधि सभाका सासद पदम गिरीले स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत सिंचाई कुलो निर्माण गर्ने प्रतिवबद्धता गर्दै १० लाख रुपैंया विनियोजन गरे । झण्डै ३० लाखको लागत लाग्ने उक्त सिंचाई कूलोको स्थलगत अनुगमन गर्दै सांसद गिरीले सिंचाई नहर सम्पन्न हुने गरी बजेटको प्रवन्ध मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
झण्डै २ सय हेक्टर जमिनमा कुलो सम्पन्न हुँदा सिंचाईको प्रवन्ध हुनेछ । स्थलगत अनुगमन पछि सांसद गिरीले बर्षातमा मात्र होइन सिंचाई कुलो मार्फत पानीको जगेडा गर्दा हिउँदको समयमा पनि तरकारी खेती गर्न सकिने बताए । उनले कुलो निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कृषकलाई राहत दिन आफू तयार रहेको बताएका थिए । चुवाका अन्य वडाहरुमा समेत सिंचाई कुलोको अभावका कारण बर्षेनी कृषि कर्ममा समस्या पर्दै आइरहेको छ ।




