Print

‘जोखिमपूर्ण यात्रा, अमेरिकी सपना र वास्तविकता’

पछिल्लो समय हाम्रो समाजमा बिकराल समस्याको रुपमा विकसित हुँदै गरेको “अमेरिकी सपना र त्यस्ले पारेको नकरात्मक प्रभाबहरु” का बारेमा आफुले देखेको, पढेको र बुझेको आधारमा एउटा जानकारीमुलक लेख लेख्ने प्रयास गर्दै छु, सकभर कसैको पनि जीवनसँग मेल नखाने गरी लेख्दै छु, मेल खाई हालेमा संयोग मात्रै बुझिदिनु अनुरोध गर्दछु ।

लगभग फेसन नै बनेको छ धेरै पर्बतबासी युवाहरुको अमेरिका आउने । अमेरिका आउनु आफैमा गलत होइन तर जसरी भएपनि आउने प्रवृत्तिले धेरैको परिवारमा विभिन्न आर्थिक, पारिवारिक सम्बन्ध एबम् सामाजिक समस्याहरु दिन प्रतिदिन बड्दै गैरहेको छ । कानुनी वा बिद्यार्थीको रुपमा अमेरिका आउनेहरुको लागि यहाँ आइसकेपछी खासै ठुलो समस्याहरु पर्दैन । तर, ३० देखि ५० लाख खर्च गरेर ज्यानको जोखिम मोलेर महिनौ लगाई विभिन्न मुलुक हुँदै जङलको बाटो समेत हिंडेर धेरै दुःख कष्ट झेल्दै अमेरिका आउने ले, त्यो ३०–५० लाख रकम जोड्ने देखी बाटोमा भोग्नु पर्ने दुःख कष्ट त छदै छ अमेरिका छिरेपछी पनि भोग्नु पर्ने समस्याहरु अझै धेरै छन ।

अमेरिकामा आइसकेपछी फेरी यहाँ अर्को हजारौं डलर खर्च गर्नुपर्ने हुनसक्छ, जेलबाट निस्कन र ग्रिनकार्ड बनाउनको लागि । राजनैतीक बन्दी हुँ, राजनैतीक आस्थाका आधारमा नेपालमा बस्न नसकेकोले शरणाथीको रुपमा अमेरिका आएको हुँ भनेर फर्जी एवम् झन्झटिलो कागजी एवम् कानुनी प्रकृया गर्नु पर्छ । कसैको ग्रिनकार्ड बन्न सक्छ कसैको बर्षौ लाग्न सक्छ । कसैलाई १–२ बर्ष सम्म जेल मा राखेर नेपाल नै फिर्ता गरिदिन्छ ।

सबै कागजी प्रकृया मिलेर ग्रिनकार्ड नै बने पनि त्यो ३० देखि ५० लाख कमाउन त्यती सजिलो छैन । जती गाउँघरमा हल्ला गरीन्छ, एउटा मध्यम बर्गिय परिवारको युवालाई बर्षौ लाग्न सक्छ । अमेरिकामा काम गरेर, खाएर बसेर त्यती धेरै रकम असुल उपर गर्न, ग्रीनकार्ड बन्ने बेलासम्म पुरा गर्नुपर्ने कानुनी प्रकृयाको लागि लाग्ने अरु खर्चको कुरै नगरौ । कथमकदाचित जेलबाट निस्कन नसके सिदै नेपाल डिपोट हुनुपर्छ । पछिल्लो समय त्यसरी डिपोट हुने क्रम दिनप्रतिदिन बड्दै छ । ३०–५० लाख खर्च गरेर अमेरिकाको जेल मा १–२ बर्ष दुःख पाएर नेपाल फर्किदाको पिडा कस्तो होला ?? उक्त रकम दलालबाट कसरी फिर्ता लिने होला ?? आफैलाई वा आफ्नो परिवार तथा आफन्तको कोही सदस्यलाई परेको सम्झेर कल्पना गरौ त, एकपटक कती काहलीलाग्दो परिस्थिति होला यस्तो समस्यामा पर्ने परिवार को ?
राजनैतीक शरणार्थाीको रुपमा ग्रिनकार्ड नै बनेपनि त्यसपछी अमेरिका बसाईका क्रममा भोग्नु पर्ने प्राविधिक समस्याहरु कती छन कती, सिधै नेपाल जान समस्या, भनेको बेला नेपाल जान समस्या, शरणार्थी जीवन आदी इत्यादी । पछील्लो समय अमेरिकी प्रशासनले आप्रबासी सम्बन्धी लिएको कडा नीतिले पनि यसरी आउनेहरुले बिबिध समस्या हरु भोग्नु परिरहेको छ । जेलबाट निस्केका तर ग्रिनकार्ड नबनेर बर्षाैसम्म कानुनी लडाईं लडेकाहरुको समस्या झन जटिल छ, नेपालमा गएको भुकम्प पश्चात अमेरिकी सरकारले दिएको टिपिएस सुबिधाले गर्दा मात्रै यसरी बसेका धेरै नेपालीहरु पछिल्लो समय नेपाल जानआउन पाएका छन, तर उनीहरुलाई सरकारले तोकेको भन्दा कम पैसामा लुकेर वा अरुको नाममा घण्टौ काम गर्नु पर्ने, स्वास्थ बिमा नहुँदा भोग्नु पर्ने समस्या, गाडी खरिद, लाइसेन्स निकाल्ने लगायतका धेरै समस्याहरु छन जस्को व्याख्या धेरै लामो हुन्छ ।

र अन्त्य मा फेरिपनी अमेरिका आउनु वा आउन खोज्नु आफैमा गलत कदापी होइन तर जीवन नै जोखिममा राखेर, त्यती ठुलो रकम खर्च गरेर अमेरिका आउने प्रवृत्तिले कतिपय परिवारमा परेको समस्याहरु हामीले सोचे भन्दा डरलाग्दो छ, यस्को लागि सबैले सक्दो जनचेतना फैलाउ आफुले देखेको भोगेको पढेको कुराहरु अरुलाई पनि जानकारी गराउ, जस्ले गर्दा हिंडेर कम्तिमा ३० लाख देखि ५० लाखसम्म खर्च गरेर अमेरिका जान्छु भन्ने युवाहरुको मन परिवर्तन होस् । साथै बिभिन्न लोभलालच र गलत सपना देखाइ अमेरिका पुराउछौ भनेर युवाहरुबाट लागत भन्दा बडी पैसा उठाइ नेपाल र अमेरिकामा मोज गर्दै गरेका दलालहरुको समेत भन्डाफोर गरौ । धन्यवाद ।

शोभा पौडेल जिसी
कुश्मा–८ चुवा, पर्वत
(हाल जर्जिया अमेरिका)