Print

मोदी गाउँपालिका स्तरीय भलिबलको उपाधि भुकदेउरालीले जित्यो

१४ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा भएको पालिकाका वडास्तरीय भलिबल प्रतियोगीताको उपाधि मोदी १ भुकदेउरालीले जितेको छ । पालिकाका ८ वटा वडाहरुको सहभागीता रहेको भलिबल प्रतियोगीतामा मंगलबार भएको खेलमा मोदी ५ क्याङको समूहलाई हराउँदै मोदी १ भुकदेराली समूहले उपाधि जितेको हो । भुकदेउराली र क्याङका वीचमा भएको प्रतिस्पर्धामा भुकदेउरालीले सोझो ३ सेट हात पार्दै उपाधि जित्न सफल भएको हो । गाउँपालिकाले पालिका स्तरीय रनिङ शिल्ड सहितको प्रतियोगीताको आयोजना गरेको हो ।

मंगलबार उपाधि जितेसंगै बर्ष २०७६ को रनिङ समेत मोदी गाउँपालिका वडा न १ भुकदेउरालीले जितेको छ । उपाधिसंगै ट्रफी, मेडल र नगद ५० हजार राशीको पुरस्कार समेत भुकदेउरालीले प्राप्त गरेको छ । द्धितिय स्थान हासिल गरेको मोदी ५ क्याङले नगद ३० हजार रकम, ट्रफी र मेडल हात पारेको छ । यस अघि तृतिय स्थानका लागि भएको खेलमा मोदी २ देउपुरलाई हराउँदै मोदी ६ तिलाहारले खेल आफ्नो पक्षमा पारेको थियो । तृतिय हुने मोदी ६ तिलाहारले नगद २० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । खेलको समापन कार्यक्रममा संविधान सभाका सदस्य कल्पना चापागाई, गाउँपालिका अध्यक्ष प्रेम पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले खेलाडीहरुलाई पुरस्कार र रनिङ शिल्ड प्रदान गरेका थिए ।

मोदी गाउँपालिकाले यस बर्ष देखि रनिङ शिल्ड भलिबल प्रतियोगीताको शुरुवात गरेको गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार ३ पटक लगातार रनिङ शिल्ड जित्नेले एकमुष्ट ३ लाख नगद पुरस्कार गाउँपालिकाबाट प्राप्त गर्नेछ । आगामी बर्ष देखि प्रतियोगीतालाई निरन्तर रुपमा सञ्चालन गर्ने गरी कार्यपालिकाले निर्णय गरेको प्रबक्ता लामिछानेको भनाई छ । खेलमा सहभागीताका लागि प्रत्येक वडाबाट बढिमा एक वटा समुहले सहभागीता जनाउन सक्नेछन ।