१९ वैशाख, पर्वत । स्थानीय तहहरुमा प्रमुख र उपप्रमुखहरुको विवादका कारण कार्य सम्पादनमा समस्या पर्दै आइरहेको छ । स्थानीय तहको निर्वाचनसंगै नगरपालिकाहरुमा नगरप्रमुख र उपप्रमुख निर्वाचित भए भने, गाउँपालिकाहरुमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भए । संघियताको कार्यान्वयनसंगै निर्वाचित उनीहरु मध्ये अधिकांशको अहिले मिलती छैन । स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरुको टकराम बाहिर नै छलंङ देखिन थालेको छ । दैनिक कार्य सम्पादन देखि पदीय अधिकार र भूमिकाका कारण उनीहरु वीचको टकराब सतहमा नै देखिने गरी बाहिर आएको हो । कतिपय संविधानले नै उल्लेख गरेका अधिकारहरु प्रमुख र अध्यक्षले उपप्रमुख र उपाध्यक्षलाई दिन नखोज्ने कतिपय अवस्थामा उप्रमुख र उपाध्यक्षले बढि नै अधिकार लिन र भूमिका बढाउन खोज्नाले स्थानीय तहहरुमा समस्या देखिन थालेको हो । पर्वत जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये अधिकांशमा समस्या देखिएको छ । केहि स्थानीय तहहरुको आन्तरीक द्धन्द्ध सार्वजनिक समेत भएको छ । केहि उपाध्यक्ष र उपप्रमुखहरुले मिडिया नै गुहारेर आफूहरु प्रति प्रमुख र अध्यक्ष अनुदार बन्दै आएको आरोप लगाउँदै आएका छन । उनीहरुको प्रमुख र अध्यक्षसंगै सम्वन्ध विग्रदै जाँदा दैनिक प्रशासकीय कामहरु सम्पन्न गर्न समेत स्थानीय तहहरुमा समस्या पर्दै आइरहेको छ ।
कुश्मामा नगरसभा नै बहिष्कार
जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्ले लामिछानले केहि दिन अघिको नगर सभा नै बहिष्कार गरिन । नगर सभामा आफ्नो कुराको सुनुवाई नै नभएको भन्दै उपप्रमुखले नगर सभा बहिष्कार गरेको बताईन्छ । नगर सभा बहिष्कार गरेको दावी गरेकी उप प्रमुख काप्लेले नगर सभा वैठकमा भने नोट अफ डिसेन्ट लेखेकी छिन ।
नगर सभामा आफ्नो मत जाहेर गर्ने तर सभा बहिष्कारको हल्ला गर्ने उनको प्रपन्च भएको नगर सभा सदस्यहरुको ठहर छ । उनले आफू संयोजक रहेको पद नगरसभाबाट खोस्ने गरी भएको निर्णयको विरोध गरेको बताईन । नगरप्रमुखले आफू विरुद्धका गतिविधिहरु सञ्चालन गरेको आरोप लगाउने उपप्रमुखले आफूले भनेको बेलामा गाडी प्रयोग गर्न नपाएको र आफ्ना योजनाहरु नगरपालिकाले वेवास्ता गरेको बताउँछिन । केहि समय देखि कुश्मा नगरपालिकामा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सीता काप्ले लामिछाने वीच दुरी बढेको छ ।
एउटै पार्टी नेपाली कांग्रेसबाट चुनाव जितेका उनीहरु वीच पक्ष र प्रतिपक्षीको भूमिका देखिन थालेको छ ।
नगरप्रमुख जोशीले अधिकार धेरै लिन खोज्ने र आफू विरुद्धको समूह निर्माण गर्दै हिडेको उपप्रमुखलाई आरोप लगाउँछन । उपप्रमुखले भने प्रमुखमा कार्यगत समस्या रहेका कारण विवाद उत्पन्न भएको आरोप लगाउँछिन । उपप्रमुखले नगरप्रमुखले विपक्षी दल नेपाल कम्युनिष्ट पार्टीका वडाअध्यक्षहरुसंग नगरप्रमुखको उठबस भएकोसम्मको आरोप लगाएकीछिन । नगरप्रमुखले भने नगर सभा र कार्यपालिकाको वैठक सञ्चालन गर्न आफू अल्पमतमा रहेको हुँदा सवै पक्षसंग सहकार्य गरेको दावी गर्दै आइरहेका छन । अनावश्यक बखेडा झिक्दै उपप्रमुखले पटक पटक नगरपालिकामा समस्या पार्दै आइरहेको जोशीको आरोप छ ।
कुश्मा नगरपालिका भित्रको वैठक सतहमै आएपछि दुवै पक्ष मिडियाबाजीमा समेत सग्लन्न भए । प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछानले निर्णय क्षमता नभएकी उपप्रमुख भन्ने आरोप लगाउँदै बजेट, नीति तथा कार्यक्रमहरु प्रक्रियागत रुपमा नगरपालिकामा भित्रने भन्दै उपप्रमुखले भने जस्तो गरी बजेट तथा योजनाहरु नगरपालिकामा नआउने स्पष्ट पारेका छन । उनले नगर प्रमुखको बचाउ गर्दै उपप्रमुखकै कमजोरीका कारण नगरपालिकामा समस्या आएको तर्क गरेका छन ।
फलेवासमा उपप्रमुख माथि पेलाई
फलेवास नगरपालिकामा पनि नगर प्रमुख र उपप्रमुख वीच टकराब रहँदै आएको छ । नगरप्रमुखले योजनाहरुको कार्यान्वयनमा आफूलाई सहभागी नगराएको अरोप लगाउने उपप्रमुख मञ्जु अधिकारीले यस अघि देखि नै नगर सभामा आफ्नो भूमिका र आसनको ब्यवस्थापनमा कडा आपत्ति जनाएकी थिइन । नगरप्रमुख पदमपाणी शर्माले नगर सभाको आसनको ब्यवस्थापनमा आफू माथि अन्याय गरेको आरोप लगाउँदै उपप्रमुख अधिकारीले जननिर्वाचित प्रतिनिधिको अबमूल्यन भएको बताइएकी थिइन ।
नगरसभा नै बहिष्कार गर्नेसम्मको धम्कि दिएकी उपप्रमुखले अन्ततः नगरसभामा भाग लिए पनि नगर सभाको आसनमा उनको बिमत्ति रहँदै आएको छ । नगरपालिकाका मूख्य निर्णायक कार्यक्रमहरुमा नगरप्रमुखले आफूलाई सहभागी नगराउने गरेको आरोप लगाउने उपप्रमुखले केहि दिन अघि मात्रै नगरप्रमुख वैदेशिक भ्रमणमा रहेको बेला नगरपालिकाको मुख्य सडक जैमिनीघाटबाट फलेवास हुँदै कार्किनेटाको शिल्यान्यास गरेकी थिइन ।
उता नगरप्रमुख शर्माले भने उपप्रमुखले संवैधानिक रुपमा प्राप्त गर्ने सवै प्रकारका अधिकारहरु प्रत्याभूति गरेको बताउँछन । उनले उपप्रमुखले निर्वाह गर्नुपर्ने सवै भूमिकामा समान सहभागीता गराउँदै आएको दाबी गर्छन ।
मोदी उपाध्यक्ष बेखुशी
जिल्लाको मोदी गाउँपालकाकी उपाध्यक्ष सेती महतले केहि समय अघि अध्यक्ष प्रेम पौडेल र गाउँपालिकाका अन्य पदाधिकारीहरुले आफ्नो भूमिका गौण बनाएको आरोप लगाउँदै एउटा अनलाईनलाई अन्तरवार्ता दिएकी थिइन । उनले आफूलाई सवारीको सुविधा गाउँपालिकाले उपलब्ध नगराएको, वजेट निर्माण तथा कार्यक्रमको कार्यान्वयनहरुमा सहभागी नगराएको आरोप लगाएकी थिइन ।
उपाध्यक्ष महतले अध्यक्षको अनुपस्थितीमा आफूले कार्यवहाकको जिम्मेवारी नियमानुसार नपाएकोमा समेत दूःखेसो गर्दै आइरहेकी थिइन । उता, अध्यक्षले भने उपाध्यक्षलाई सवै प्रकारको अधिकार प्रदान गर्ने देखि निर्वाह गर्नुपर्ने सवै भूमिकामा सहभागी गराइएको बताउँदै आएका छन । पछिल्लो समय उपाध्यक्ष र अध्यक्ष वीचको सम्बन्ध भने औसत रहेको बुझिन्छ ।
बजेटमा जलजला उपाध्यक्षको असन्तुष्टि
जलजला गाउँपालिकाकी उपाध्यक्ष सिमा गबुर्जा पुनले पनि अध्यक्ष लगाएतको कार्य शैलीमा पटक पटक आपत्ति जनाउदै आएकी छिन । उपाध्यक्ष पुनले संघिय सरकारसंगबाट थुप्रै योजनाहरु गाउँमा आफ्नो पहलमा गाउँमा आएको दावी गर्छिन । उनले चालु आर्थिक बर्षको बजेट निर्माण प्रक्रियामा चर्को असन्तुष्टि जनाएकी थिइन । गाउँ सभामा बजेट प्रस्तुत गर्दै आफूले भनेका योजनाहरुमा बजेट विनियोजन गर्न आफू असफल रहेको औल्याएकी थिइन ।
गाउँ कार्यपालिकाले आफ्ना योजनाहरुमा कैची लगाएको उनको आरोप छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले भने उपाध्यक्षको विकास निर्माण र योजनाहरुको अनुगमनमा सन्तोषजन सहभागीता रहेको बताउँछन । उनले आफूहरु वीच बाहिर देखिए जस्तो कुनै अन्तरविरोध नभएको स्पष्ट पार्छन ।
महाशिला र विहादीका उपाध्यक्ष सेरेमोनियल
जिल्लाका दुई गाउँपालिकाका उपाध्यक्षहरु भने आफ्नो नेतृत्वसंग खुलेर असुन्तष्टि ब्यक्त गर्दैनन । विहादी गाउँपालिकाकी उपाध्यक्ष डम्मर कुमारी गुरुङ पुरानो कम्युनिष्ट कार्यकर्ता हुन । एउटै पार्टीबाट अध्यक्ष कमल भुषाल र उपाध्यक्ष गुरुङले निर्वाचन जितेका हुन । उनीहरु वीच सतहमा देखिने गरी विवाद सार्वजनिक भएको छैन । अध्यक्ष भुषालले कानून सम्बत सवै अधिकार र कार्य क्षेत्र अनुसार नै आफूहरुले मिलेर गाउँपालिकाका गतिविधिहरु सञ्चालन गरीरहेको बताउँछन । उता, महाशिला अध्यक्ष राजु पौडेल र उपाध्यक्ष हिराकुमारी राना पनि एउटै पार्टीबाट निर्वाचित भएका हुन उनीहरुले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्छन । उपाध्यक्ष रानाले धेरै नै कार्यकारी भूमिका नखोजेका कारण महाशिलाको विवाद भने सार्वजनिक भएको छैन ।
पैयू उपाध्यक्ष कार्यकारी
पैयू गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङ गाउँपालिका भित्र कार्यकारी भूमिकामा प्रस्त्ुत हुन्छिन । केहि समय अघि उनले अध्यक्ष खगेन्द्र तिवारी नभएको बेला कार्यवहाक अध्यक्षको भूमिकामा रहँदा उपाध्यक्ष गुरुङले वडाअध्यक्षलाई स्पटीकरण सोधेकी थिइन ।
गाउँपालिका भित्र अध्यक्ष तिवारी सन्तुलित ब्यवहारका भएका कारण पनि उपाध्यक्षको भूमिका बढेको अनुमान छ । तिवारी र गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन । तिवारी र गुरुङ वीचको अन्तरसंघर्ष भने सतहमा आएको छैन । गाउँपालिकाका कर्मचारीहरु भने उपाध्यक्ष गुरुङ कार्यकारी भूमिकामा प्रस्तुत हुने गरेको बताउँछन । गुरुङले कर्मचारीको काम कारबाही देखि योजनाहरुको कार्यान्वयनका सवै चरणहरुमा हस्तक्षेपमूलक सहभागीता जनाउँदै आएको पालिकाका कर्मचारीहरु बताउँछन ।
कतिपय अवस्थामा कानूनमा ब्यवस्था निर्दिष्ट नभएको र कतिपय उपप्रमुख तथा उपाध्यक्षले आवश्यकता भन्दा बढि अधिकार खोज्ने प्रचलन बढ्दै गईरहेको छ । अध्यक्ष बराबरको हैसियत खोजेका कारण पनि कतिपय स्थानीय तहहरुमा समस्या सृजना भएको हो । जसका कारण स्थानीय तहका दैनिक कार्य सञ्चालनमा समस्या सृजना भएको छ । संविधानले उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजक, अनुगमन समितिको सयोजक र बजेट निर्माण समितिको प्रमुखको हैसियत प्रदान गरेको छ । उनीहरुलै नगर तथा गाउँ सभामा बार्षिक बजेट प्रस्तुत गर्नेगर्छन । अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर




