Print

पर्वतमा प्रकोप उद्धार समितिको आकस्मिक वैठक, सुरक्षा निकाय हाइअर्लटमा

२० वैशाख, पर्वत । जिल्ला दैविक प्रकोप उद्धार समितिको आकस्मिक वैठक कुश्मामा सम्पन्न भएकोछ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा भएको वैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख एव् प्रतिनिधि तथा जिल्ला स्थित विषयगत कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

केहि दिन देखि परीरहेको अनाबृष्टिका कारण भएको कृषि उपजको क्षति तथा हावा हुरीका कारण भएको क्षतिलाई राहत प्रदान गर्नका लागि सवै निकाय सक्रिय रहन वैठकमा प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले निर्देशन दिए । पछिल्लो समय प्रिमनसुनका कारण ग्रामीण क्षेत्रमा ठूलो क्षति भइरहेको छ । असिनाले बालिनाली नष्ट गर्नुका साथै, हावा हुरीका कारण नीजि घर र विद्यालयका छाना उडाएको छ । प्रजिअ ढकालले स्थानीय तहहरुले तत्काल आकस्मिक कोषको प्रयोग गरी उद्धार र राहत वितरण गर्न निर्देशन दिए ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगर क्षेत्र भित्र प्रकोपका कारण भएको सवै क्षतिको क्षतिपूर्ति र राहत वितरण नगरपालिकाबाटै गरिने जानकारी गराए । नगरप्रमुख जोशीले निकै ठूलो विपत्ति आइलागे मात्रै अन्य सहयोग मागिने भन्दै मध्यम खालका विपत्तीको राहत र उद्धारका लागि नगरपालिका पूर्ण रुपमा तयार रहेको बताए ।

वैठकमा फलेवास नगरपालिकाको भने प्रतिनिधित्व थिइन । जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, विहादी गाउँपालिकाकी उपाध्यक्ष डम्मरकुमारी गुरुङ लगाएतले प्रकोपजन्य घटनाको उद्धार र सहयोगका लागि स्थानीय तह तयार रहेको बताएका थिए । उनीहरुले क्षतिको विवरण संकलन गरी सुरक्षा निकायमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

वैठकका शसस्त्र प्रहरी वलका शसस्त्र उपरिक्षक रमेश कुमार सुवेदीले शसस्त्र प्रहरी उद्धार र राहतमा चौविसै घण्टा तयार रहेको भन्दै राहत सामाग्री उपलब्ध भए घटनास्थलमा लैजाने कुराको जिम्मा आफ्नो संगठनले लिने जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले हावाहुरीले पुराएको क्षतिको विवरण संकलन भईरहेको जानकारी दिए । बुधवार दिउँसो लागेको हावाहुरीका कारण पर्वतमा झण्डै १ दर्जन बढि नीजि घरमा क्षति पुगेको र आधा दर्जन बढि विद्यालयहरुको छाना हावाले उडाएको प्रारम्भिक अनुमान गरिएको छ ।

असिनाका कारण भएको क्षतिको विवरण संकलन गरी स्थानीय तहले उपलब्ध गराएमा क्षति पूर्तिका लागि कृषि ज्ञानले केन्द्रले प्रदेश सरकारमा माग गर्ने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए । रेग्मीले विमा गरेका कृषकलाई विमित रकम उपलब्ध गराउन र विमा नगरिएका कृषकहरुलाइ क्षतिपूर्ति रकम उपलब्ध गराउन कृषि ज्ञान केन्द्र तयार रहेको बताए ।

वैठकले बर्षातको शुरुवात हुन लागेकाले सम्भावित बाढि, पहिरो लगाएतका प्रकोपहरुबाट बच्न सावधानि अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।