Print

आफ्नै स्वामित्वको भवन बनाउँदै मोदी गाउँपालिका

२७ फागनु, पर्वत । जिल्लाको मोदी गाउँपालिको आफ्नै स्वामित्वमा रहेको भवन निर्माण प्रक्रिया शुरुवात गरेको छ । गाउँपालिकाको कार्यपालिका वैठकबाट निर्णय भएबमोजीम गाउँपालिकाको भवन बनाउने प्रक्रिया शुरुवात गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलका अनुसार भवन अभावमा भाडाको घरमा वस्दै आइरहेको गाउँपालिकाले आफ्नै स्वामित्वको भवन निर्माणको प्रक्रिया शुरुवात गरेको छ ।

चालु आर्थिक बर्षका लागि कुल ५० लाख रकम गाउँकार्यपालिकाको वैठकबाट विनियोजन गरी भवन निर्माणको प्रक्रिया गाउँपालिकाले शुरुवात गरेको हो । जिल्लाको पातिचौर बजार क्षेत्रमा भाडाको घरमा बस्दै आएको गाउँपालिकाको कार्यालय साविकको देउपुर गाविस र हालको मोदी २ मा पर्दछ ।

यस बजार क्षेत्रमा गाउँपालिकाको भवन निर्माण गर्नका लागि यस अघि वडा अध्यक्ष विकास तिमिल्सीना र स्थानीयबासीको पहलमा झण्डै ३ रोपनी क्षेत्रफलको जग्गा खरिद गरी स्थानीयले गाउँपालिकालाई हस्तान्तरण गरीसकेका छन ।

स्थानीयबासीको झण्डै पौने करोडको लगानीका खरिद गरिएको जग्गा गाउँपालिकाको नाउँमा उपलब्ध गराएसंगै भवन निर्माण प्रक्रिया गाउँपालिकाले शुरुवात गरेको हो ।
‘भवन निर्माणका लागि टेण्डर प्रक्रिया शुरुवात भएको छ’ प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले भने–‘निर्माण ब्यवसायी छिट्टै छनौट हुनेछ, त्यसपछि भवन निर्माणको प्रक्रिया औपचारिक रुपमै शुरुवात हुनेछ ।’

भवन निर्माणको लागि इच्छुक निर्माण कम्पनीको माग गरेको गाउँपालिकाले पहिलो चरणमा एक तले ढलन भवन निर्माण गर्ने योजना बनाएको छ । आवश्यकताका आधारमा भवनको बाँकी संरचना अगामी बर्षहरुमा सम्पन्न गर्ने गरी कार्यपालिकाले योजना गरेको मोदीका प्रवक्ता विमल लामिछाने बताउँछन ।

लामिछानेका अनुसार वडा कार्यालयको भवन नभएका वडाहरुमा वडा कार्यालयहरुको भवन निर्माण प्रक्रिया पुरा भएसंगै कार्यपालिकाको भवन निर्माण प्रक्रियाको शुरुवात गरिएको हो । यस अघि क्याङ र तिलाहार वडाको वडा भवन गाउँपालिकाले निर्माण गरेको छ । भौतिक संरचना नभएसम्म गुणस्तरीय सेवा प्रवाहमा गाउँपालिकालाई समस्या पर्ने भन्दै कार्यपालिकाले भवन निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर