२६ फागुृन, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका सांसद पदम गिरीले आइतबार संघिय संसदमा विशेष समय लिएर बोल्दै जनताका असन्तुष्टि लोकतान्त्रिक विधिबाट टुंगाउनु सरकारको सकारात्मक काम भएको बताएका छन । सांसद गिरीले आफ्नै पार्टीका नेता भिम रावल तर्फ लक्षित गर्दै लोकतान्त्रिक विधिबाट समस्या समाधान नभए बन्दुकबाट समाधान गर्ने ? भनेर प्रश्न समेत गरे ।
संसदमा बोल्दै सांसद गिरीले पृथकताबादी नीति लिएर अघि बढेको सिके रावतको समूहलाई लोकतान्त्रिक विधि मार्फत सरकारले राजनीतिको मुल प्रवाहमा ल्याएको बताए ।
सांसद गिरीले २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि थुप्रै पटक नेपाली कांग्रेसलाई जनताले सत्तामा पुराएपनि कांग्रेसले जनताले खोजे जस्तो शासन पद्धति सञ्चालन गर्न नसकेको धारणा राखे ।
अर्को एक प्रशंगमा सांसद गिरीले नेपालमा छिट्टै हुन लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा प्रभाव पार्न देशमा सरकार असफल भयो, भ्रष्टचार र कुशासन भयो भनेर हल्ला फैलाउन खोजीएको आरोप लगाए ।
उनले सरकारले सामाजिक सुरक्षा योजना देखि विकासका थुप्रै योजनाहरु कार्यान्वयन गर्दै गरेको भन्दै सरकारको बचाउ गरे । सत्ता पक्षको चर्को बचाउ गर्दै सांसद गिरीले भ्रम छरेर सरकार विरोधी अभियानहरु सञ्चालन भईरहेको बताए ।




