२७ फागुन, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ३ क्याङको हलहलेमा सामुहिक पशुपालन शुरु गरिएको छ । झण्डै ३५ लाखको लगानीमा १२ जना युवाले सामुहिक गाई तथा भैसीपालनको कार्यक्रम शुरुवात गरेका हुन । कुल १ करोडको लगानी गर्ने गरी हाल ३५ लाख नगद रकम खर्च गरेर गाई तथा भैंसीपालनको तयारी गरिएको हो ।
पछिल्लो समय कृषि र स्वरोजगारमूलक ब्यवसायलाई सरकारले समेत सहयोग गर्न थालेपछि जिल्लाका कतिपय गाउँपालिकाहरुमा सामूहिक रुपमा ब्यवसाय गर्नेको संख्यामा बृद्धि भएको छ । यो संगै नेचुरल विल्डिङ एग्रो टुरिजम्म मल्टिप्रपोज नामक कम्पनीको दर्ता गरी यहाँका युवाहरुले पशुपालन शुरुवात गरेका हुन । झण्डै २० वटा माउ भैसी र गाई पाल्न सकिने गरी खोर निर्माण गरेको उक्त फार्ममा ५० वटा मुर्गा भैसी र उन्नत नश्लका गाईहरुको खरिद गरी दुध र दुध जन्य वस्तुको उत्पादन गर्ने गरी फार्मको शुरुवात गरिएको सञ्चालक यामबहादुर पुनले जानकारी दिए ।
फार्मको ब्यवस्थापकको समेत जिम्मेवारी लिएका पुनले १२ जना मध्ये प्रतिब्यक्ति कम्तिमा १५ लाखका दरले फार्ममा लगानी गरिएको जानकारी दिए । कुल ६८ रोपनी जग्गालाई फार्म सञ्चालनमा प्रयोग गरिने भएको छ । त्यस मध्ये तत्काल ३ रोपनी क्षेत्रमा घाँस खेति गरिने सञ्चालकले बताएका छन । २ बर्ष अघि नै कम्पनी दर्ता गरी पशुपालनको तयारी गरेको कम्पनीले अहिले फार्म निर्माण कार्य गरीरहेको छ । फार्ममा पशुहरुलाई राखिने उत्पादनको काम केहि महिनामै शुरुवात हुने कम्पनीका सञ्चालक समेत रहेका रामबहादुर अधिकारीले जानकारी थिए । उनी कम्पनीका अध्यक्ष समेत हुन ।
अधिकारीले युवा शक्ति विदेश मात्र पलायन हुन थालेपछि त्यसलाई रोक्न पशुपालनलाई बृहत रुपमा सञ्चालन गरिएको बताउँछन । उक्त फार्मलाई गाउँपालिकाबाट पनि आर्थिक सहयोग दिने गरी योजना गर्न सकिने मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले बताए । उनले गाउँपालिकाले १ करोडको लगानीमा शुरुवात गरे कृषि फार्महरुलाई सहयोग गर्न सकिने गरी गाउँपालिकाले तयारी गरिरहेको समेत जानकारी दिए । फार्मको शुरुवात भईसकेको पछि यो विषयमा छलफल गर्न सकिने पौडेलको भनाई छ ।
अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर




