Print

जलजलामा ७० प्रतिशत योजनाको सम्झौता

२६ फागुन, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा योजनाका ७० प्रतिशत योजनाहरुको सम्झौता सकिएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकको अन्त्यमा कुल योजनाका ७० प्रतिशत योजनाहरुको सम्झौता सकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार सम्झौता भएका योजनाहरुमा पहिलो किस्ता वापतको रकम पनि भुक्तानी भईसकेको छ । पहिलो किस्ता लगेका कतिपय योजनाहरुले फरफारकका लागि समेत गाउँपालिकामा आउन थालेको बताउँदै मल्लले जिल्लाकै अग्रणी भूमिकामा गाउँपालिकाले काम गरीरहेको दावी गरे । पर्वतबाट प्रकाशित अर्थ वीट साप्ताहिकमा खबर छ

उनले गाउँपालिका भित्रका सवै साना र ठूला योजनाहरु कार्यन्वयनको चरणमा गईसकेको बताउँदै आगामी बैशाख महिनाको अन्त्यसम्ममा धेरै योजनाहरुका निर्माण कार्य सम्पन्न भईसक्ने मल्लको दावी छ । मल्लले विकास योजनाहरुको काममा कुनै ढिलाई र प्रशासनीक झण्झड नभएका कारण योजनाहरुको कार्यान्वयनमा सहज भएको बताए । मल्लले जनप्रतिनिधिहरुको लगाव र कर्मचारीहरुको सहयोगका कारण आर्थिक बर्ष नसकिँदै बार्षिक बजेट खर्च उपलब्धिमूलक ढङगले अगाडि बढेको समेत विश्वास ब्यक्त गरे । गाउँपालिका भित्र वडागत र पालिका स्तरीय ठूला योजनाहरुहरु छन । विषयगत कार्यलयहरुको पनि बजेट खर्च प्रक्रियामा गईसकेको छ ।

सम्झौताको काम सकिएको र कतिपय योजनाहरुको भुक्तानी प्रक्रिया समेत शुरु भईसकेको भन्दै गाउँपालिकाको वैठक थप बजेट निकाशाको लागि समेत संघिय सरकारसंग माग गरेको छ । गाउँपालिकाले आन्तरीक आयमा भने प्रक्षेपण गरे भन्दा ज्यादै न्यून रकम संकलन गर्ने भएको छ ।

चालु आर्थिक बर्षमा झण्डै २ करोड रकम प्रक्षेपण गरेको गाउँपालिका १ करोड रकम भन्दा बढ्नसक्ने अवस्थामा छैन । गाउँपालिका भित्रका नदीजन्य वस्तुहरुको उत्खनन्मा भएको प्रशासनीक हस्तक्षेपका कारण आन्तरीक आयमा भने गिरावट आएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए । आन्तरीक आय संकलनमा गाउँपालिकाकाले सर्वसाधारण जनतासंग भने न्यून रकम मात्र संकलन गरीरहेको छ । न्यून दस्तुर लिएका कारण जनताबाट कम आम्दानी हुने मल्लले बताए । उनले सर्वसाधरण गरिब नागरिकसंग धेरै शूल्क लिएर राज्य सञ्चालन गर्दा जनमुखी प्रशासन प्रणाली नहुने भएका कारण आयका अन्य श्रोतहरुको समेत गाउँपालिकाले खोजी गरीरहेको दावी गरे ।