२६ फागुन, पर्वत । संघियता कार्यान्वयन भएसंगै जिल्ला स्तरीय कार्यालय रहने वा नरहने अन्यौल रहेकै बेला स्वास्थ्य क्षेत्रका गतिविधिहरु सञ्चालन गर्न स्वास्थ्य कार्यालयको स्थापना भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सवै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गर्ने नीति लिएको हो ।
नीति अनुसार पर्वतको कुश्मामा कार्यालयको एक औपचारिक कार्यक्रम वीच शुभारम्भ गरिएको छ । यस अघि जिल्ला स्वास्थ्य कार्यालय नाम रहेको उक्त कार्यालयको नाम अव भने स्वास्थ्य कार्यालय रहनेछ ।
कार्यालयमा आयोजीत एक कार्यक्रम वीच जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले कार्यालयको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै पौडेलले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको विकास र विस्तारमा राज्यले ठोस नीति लिनुपर्ने धारणा ब्यक्त गरे । उनले जिल्ला स्तरीय समन्वय र जिल्ला स्तरीय कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि समस्या भईरहेको बेला कार्यालयले स्वास्थ्य क्षेत्रका जटिल सवै खालका समस्याहरु समाधान गर्न मद्दत पुराउने विचार राखे ।
कार्यक्रममा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले सर्वसुलभ स्वास्थ्य सेवा विस्तारका लागि राज्यले तल्ला निकायहरुलाई शक्तिशाली बनाउँदै लैजानुपर्ने धारणा ब्यक्त गरे । उनले स्वास्थ्य कार्यालय मातहतका सवै स्वास्थ्य संस्थाहरुमा भरपर्दो सेवा विस्तारका लागि सवैको साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बार्षिक कार्यक्रमहरुको प्रस्तुती र स्वागत गरेकी थिइन । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका अधिकृत तेजप्रसाद सुवेदीले गरेका थिए ।




