२४ फागुन, पर्वत । पर्वतको जलजला गाउँपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने तयारी थालेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न कार्यपालिका बैठकले प्रहरी भर्ना गर्नका लागि नियमावली बनाउने निर्णय गरेको हो ।
गाउँपालिकामा शान्ति सुरक्षा र प्राकृतिक स्रोत संरक्षण तथा उपयोगका लागि आफ्नै प्रहरीको आवश्यकता देखिएकोले नियमावली मस्यौदा गर्ने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले जानकारी दिए । ‘गाउँपालिकाको काममा जनपद प्रहरीबाट असहयोग भयो’ उनले भने ‘आगामी दिनमा आफ्नै प्रहरी आवश्यक देखिएकाले नियमावली मस्यौदा गर्न लागेका हौ’ कार्यालयको सुरक्षा र अन्य सुरक्षा समेत चुनौती थपिएपनि शान्ति सुरक्षा माग्दा जनपद प्रहरीले बेवास्ता गरेको आरोप अध्यक्ष मल्लले लगाए ।
प्रहरीले असहयोग गरेको भन्दै गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, प्रहरी प्रधान कार्यालय देखि गण्डकी प्रदेशका मुख्यमन्त्री सम्म पत्राचार गर्ने निर्णय गरेको अध्यक्ष मल्लले जानकारी दिए । ‘किटानी जाहेरी समेत नलिने अवस्था भएपछि बाध्य भएर माथिल्लो निकाय गुहार्नु परेको हो ’उनले भने ।
जिल्ला प्रहरी कार्यालय पर्वत र जलजला गाउँपालिकाका बिचमा लामो समय देखि मतान्तर देखिदै आएको छ । गाउँपालिकाले जनपद प्रहरीले आफ्नो अधिकार क्षेत्र बाहिर गएर अनावश्यक हस्तक्षेप गरेको तथा समन्वय बिना काम गरेको आरोप लगाउँदै आएको छ । प्रहरीले भने प्रचलित ऐन कानुनले दिएको अधिकार प्रयोग गरि कानुन बिपरित हुने गतिबिधी र कामलाई नियन्त्रण गरेको दाबी गर्दै आएको छ ।
खासगरी कालीगण्डकी नदीमा नदीजन्य पर्दाथ उत्खननका बिषयमा बिबाद हुँदै आएको छ । नेपाल प्रहरीले देशैभर सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत जलजलामा सञ्चालन हुन सकेको छैन । प्रहरीले गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्न असहयोग गरेको आरोप लगाउँदै आएको छ भने गाउँपालिकाले प्रहरीले समन्वय नै नगरेको दाबी गरेको छ ।




