Print

निर्वाचनका प्रतिबद्धताहरु पुरा गर्दै जनप्रतिनिधिहरु, कुश्मा–मोदीबेणी सडक ढलानको काम धमाधम

२३ फागुन, पर्वत । स्थानीय तहको निर्वाचनका बेला कुश्मा नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएका नेकपाका नेता मेघनाथ सुवेदीले दुई वर्ष भित्रमा कुश्मादेखि मोदीबेनी हुँदै फलेवास जोड्ने सडक कालोपत्रे गर्ने घोषणा गर्नुभएको थियो ।

त्यसपछि सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचमा उम्मेदवार बनेका नेकपाका नेताहरुले पनि उक्त सडकलाई उच्च प्राथमिकता दिएका थिए । उनिहरुले तत्कालीन समयमा गरेको उक्त प्रतिवद्धता पुरा हुनै लागेको छ ।

पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्ने काम धमामधम भैरहेको हो ।

उपभोक्ता समितिको निरन्तरको सक्रियतापछि अहिले चक्ल्याउने र नाली निर्माण गर्ने, आवश्यक ठाउँमा वाल लगाउने, ढलान गर्ने र कालोपत्रेको काम सम्पन्न हुन थालेको छ । गण्डकी प्रदेश सरकारको नमुना योजनाको रुपमा उक्त आयोजनाको काम भैरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्तोषजनक काम भएकाले भौतीक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत दुई पटक रु ५० लाखको दरले बजेट समेत बिनीयोजन भएको छ । पहिलोपटक बिनीयोजन भएको रु ५० लाखले केहि काम भएको र पछिल्लो पटक बिनीयोजित थप ५० लाख रुपैयाले अहिले ढकाल गर्ने र कालोपत्रेका लागि संरचनाहरु तयार गर्ने काम भैरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले आफु निर्वाचमा सफल नभएपनि घोषणा गरेका कामहरु समयमै सम्पन्न गर्ने प्रतिवद्धता अनुरुप समयमै काम सम्पन्न हुन लागेको बताउनुभयो । सडक अभावकै कारण मोदीवेणी दिब्यधाममा जानआउन र उक्त स्थानको भौतिक पूर्वाधार निर्माणमा समेत समस्या परिरहेका बेला सडक स्तरोन्नतीको काम धमाधम भएपछि पर्वतका लाखौ नागरिकहरु लाभान्वित हुने भएका छन् ।

निर्माणधिन कुश्मा–मोदीवेनी सडकको अवलोकन गर्दै नेकपा नेता शंकर गिरी
निर्माणधिन कुश्मा–मोदीवेनी सडकको अवलोकन गर्दै नेकपा नेता शंकर गिरी

सडक निर्माण सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी र गण्डकी प्रदेशका मन्त्री मन्त्री विकास लम्सालले प्रदेश सरकार मार्फत बजेट विनियोजन गर्न पहल गर्दै आइरहेका थिए ।

उता, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना र प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारले समेत बजेटको उचित ब्यवस्थापन गरी सडक निर्माण कार्य अगाडि बढाउन पहल गर्दै आइरहेका थिए । जिल्लामा निर्वाचित सवै जनप्रतिनिधिहरुका पहल पछि सडकले निर्माण कार्यमा गति लिएको निर्माण समितिका अध्यक्ष सुवेदीको भनाई छ ।

त्यसैगरी मोदीबेणीमा निर्माण भैरहेको कालीगण्डकी लोकमार्ग अन्तर्गतको मोटरेबल पुलको पनि तीब्र गतिमा निर्माण भैरहेको छ ।

मोदीखोलामा निर्माणाधिन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने नेकपाका युवा नेता शंकर गिरीले जानकारी दिनुभयो ।

अबको युग भनेको विकास र समृद्धिको भएकाले सवै योजनाहरु समयमै सम्पन्न गर्न र तोकिएकै मापदण्डको गुणस्तरमा काम गर्न दबाब दिईँदै आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँले आफुले नियमित अनुगमन गर्ने गरेको पनि बताउनुभयो ।