Print

सांसद गिरीको पहलमा कुश्मामा जेष्ठ नागरिक परामर्श केन्द्र बन्दै, २ करोड २६ लाख विनियोजन

२६ कार्तिक, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीको पहलमा कुश्मामा जेष्ठ नगारिक परामर्श केन्द्र बन्ने भएको छ । सांसद गिरीले संघिय सरकारबाट २ करोड २६ लाख रुपैंया विनियोजन गर्न पहल गरेसंगै कुश्मामा जेष्ठ नागरिक परामर्श केन्द्र निर्माण हुने भएको हो ।

कुश्मा नगरपालिकाको वडा न ७ मा उक्त भवन निर्माण गरिने कुश्मा ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार जग्गाको ब्यवस्थापन गरी रकमको खोजी भईरहेको बेला संघिय सांसद गिरीले उक्त रकम ब्यवस्थापन गर्न पहल गरेका हुन ।

गिरीको पहलसंगै संघिय सरकारबाट विनियोजन भएको रकमले पर्वत सदरमुकाम कुश्मामा सुविधा सम्पन्न नागरिक परामर्श केन्द्रको निर्माण हुने भएको छ । भवन निर्माणका लागि यस अघि नै जेष्ठ नागरिक मिलन समाजले पहल गर्दै आइरहेको थियो । समाजको पहलमा कुश्मा ७ मा जग्गाको समेत प्रवन्ध गरिएको छ । उक्त जग्गामा निर्माण हुने भवनलाई बहुृउद्देश्यीय भवनको रुपमा पनि परिणत गर्ने गरी योजना गरिएको वडा अध्यक्ष पौडेलको भनाई छ ।

उता, सांसद गिरीले जेष्ठ नागरिकको सम्मानार्थ निर्माण गर्न लागिएको भवनको निर्माणका लागि संघिय सरकारको तर्फबाट सहयोग गरिएको बताए । उनले भवन निर्माणसंगै त्यसको ब्यवस्थापन र सदुपयोगका लागि पनि आगामी दिन विशेष कार्य योजना निर्माण गर्न स्थानीयबासी र वडा कार्यालयलाई आग्रह गरे ।

सांसद गिरीले आफूले निर्वाचनको क्रममा जनतासंग गरेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्दै जाने प्रण ब्यक्त गरे । उनले सडक सुधार, शिक्षा क्षेत्रको विकास, कृषि,पशुपालन र पर्यटनलाई जिल्लामा ब्यवस्थित रुपमा विकास गर्ने गरी आफूले संघिय सरकारसंग आवश्यक समन्वय गरीरहेको समेत जानकारी दिए ।

अर्थ वीट साप्ताहिकबाट