१५ कार्तिक, पर्वत । शिवालय माध्यमिक विद्यालय कुश्माका पूर्व विद्यार्थीहरुले जलजला गाउँपालिका २ माझफाँटमा रहेको विन्ध्यवासीनी प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन । शिवालय माविमा २०५८ साल एसएलसी ब्याज समूहका विद्यार्थीहरुले विन्ध्यवासीनी प्राविका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
एउटै उमेर समूहमा एसएलसी दिएका विद्यार्थीहरुको सक्रियतामा विपन्न विद्यार्थीहरुका लागि न्यानो ड्रेस, खाजा, कपी र कलम सहयोग गरिएको हो । विपन्न दलित समुदायका विद्यार्थीहरु रहेको विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरुको अभाव भईरहेको जानकारी पाएपछि पूर्व विद्यार्थीहरुको तर्फबाट शैक्षिक सामाग्री वितरण गरिएको हो ।
‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई हामीले थोरै भएपनि सहयोग गरेका हौ’ पूर्व विद्यार्थी तथा अभियानकी संयोजक रिता केसी भन्छिन–‘सहयोग सानो होला तर विद्यार्थीहरुलाई अध्यापनमा थप सहजता हुनेछ ।’ पूर्व विद्यार्थीहरुले आर्थिक अवस्थाका कारण अध्ययनमा समस्या परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले १ लाख बराबरको अक्षय कोषको समेत स्थापना गरेका छन । अक्षय कोषको ब्याज र पूर्व विद्यार्थीहरुको अन्य सहयोगबाट शिवालय मावि र अन्य विद्यालयहरुमा समेत सहयोय गर्ने आफूहरुको उद्देश्य रहेको केसीले बताईन ।
सहयोग हस्तान्तरण कार्यक्रममा विदालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार विक र विद्यालयका प्रअ गुप्त बहादुर जिसीले सहयोगका लागि धन्यवाद ब्यक्त गरेका थिए । २५ जना विद्यार्थी रहेको उक्त विदालय २०२१ सालमा स्थापना भएको हो । ७ जना शिक्षक शिक्षीका रहेको विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु दलित समुदायका छन ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको विद्यालयमा पूर्व विद्यार्थीहरुको सहयोगले विद्यार्थीहरुलाई अध्यापनमा केहि सहज भएको विद्यालयका शिक्षकहरुको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरु रिता केसी, शंकर गिरी, रविन्द्र तिवारी, मञ्जु गौडेल, गंगा पौडेल, सृजना श्रेष्ठ, गणेश गिरी लगाएतको सहभागीता रहेको थियो ।





