Print

पोखरा देखि पञ्चासेसम्म केबलकार बनाउने प्रक्रिया शुरु, मोदी गाउँपालिकाको आयोजनामा सर्वपक्षिय छलफल

१५ कार्तिक, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा पर्ने पन्चासे क्षेत्रमा पर्यटन पुर्वाधारयुक्त केवलकार परियोजना निर्माणको प्रक्रिया शुरुवात भएको छ । आर के डी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड बन्दिपुर केवलकार प्रा.लि र पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडले निर्माण गर्न लागेको केबलकारका विषयमा मोदी गाउँपालिकामा उक्त छलफल भएको हो ।

कम्पनीले झण्डै १० अर्वको लगानीमा पोखरा महानगरपालिका वडा न २२ घाटिछिना देखि मोदी गाउँपालिका ८ चित्रेसम्म केबलकार निर्माणको परियोजना तयार पारेको छ । झण्डै ८.६ किलोमिटरको दुरीमा निर्माण गर्न लागेको उक्त केबलकार निर्माण र पर्यटन प्रवद्र्धनका विषयमा गाउँपालिकाको आयोजनामा गाउँपालिकाकै पर्यटकीय गाउँ चित्रेमा उक्त छलफल भएको हो ।

केबलकार निर्माणसंगै पर्यटन प्रवद्र्धनका लागि कम्पनीले सहिद पार्क, होम स्टे, रिसोर्ट, फन पार्क समेत निर्माण गर्दै पन्चासे देखि चित्रेसम्म जिप सवारी गर्ने प्रस्ताव समेत पेस गरेको छ । कम्पनीले कुल लागत मध्ये ३ अर्व शेयर भने स्थानीयलाई दिने गरी परियोजना प्रस्ताव समेत तयार पारेको छ ।

कम्पनीले पेश गरेको प्रस्ताव उपर गाउँपालिकाका पदाधिकारी र जनप्रतिनिधिहरुका वीचमा अन्तरक्रिया सहितको छलफल कार्यक्रमको आयोजना गरिएको थियो । मोदी गाउँपालिका जिल्लाकै पर्यटकीय सम्भावनायूक्त क्षेत्र हो । पञ्चासे कास्की र पर्वतको सिमानामा रहेको उच्च लेक हो । बनस्पति र बहुमूल्य जटिबुटिहरु समेत रहेको उक्त क्षेत्रको समिपमा होम स्टे सहितको पर्यटकीय गाउँ चित्रे पर्दछ ।

गाउँपालिका अध्यक्ष प्रेम पौडेलले परियोना प्रस्ताव उपर टिप्पणी गर्दै मोदी गाउँपालिका सवै प्रकारको सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष पौडेलले पर्यटकीय सम्भावनायुक्त चित्रे र पञ्चासे क्षेत्रको विकासबाट मोदी गाउँपालिकाले प्रसस्त पर्यटक भित्राउन सक्ने भएकाले यसले गाउँपालिकाको सर्वाङीण हित गर्ने कुरा उल्लेख गरे ।

कार्यक्रममा मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पर्यटन क्षेत्रबाट आर्थिक सम्बृद्धि सम्भव भएको कुरा उल्लेख गर्दै परियोजना सम्भव भएको कुरा उल्लेख गरे । कार्यक्रममा लामिछानेले स्थानीय स्तरको समन्वयमा काम गरेमा परियोजना सफल हुने समेत दावी गरे ।

कार्यक्रममा कम्पनिका अध्यक्ष रामकृष्ण शर्माले पेश गरेको परियोजना प्रस्ताव सम्बन्धि कार्य नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य गुप्त हमाल, गाउँपालिका उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत कुमान सिह गुरुङ्ग तथा वडाअध्यक्षहरु दल बहादुर मल्ल, बसन्तकुमार गुरुङ र सुकबहादुर गुरुङ्गले टिप्पणी गरेका थिए ।

कार्यक्रममा स्थानीय अगुवाहरुले समेत आफ्नो धारणा राखेका थिए । परियोजना कार्यन्वयनमा आउँदा हजारौ संख्यामा रोजगारीको अवसर सृजना हुने प्रस्तावनामा उल्लेख गरिएको छ ।