Print

‘खेल क्षेत्रको विकास गर्न कुश्मा नगरपालिका संवेदनशिल छ’– नगरप्रमुख जोशी

असोज १८, पर्वत । पर्वतको कुश्मामा पहिलो पटक खुल्ला तारा खेल प्रतियोगिता शुरु भएको छ । आनन्द आर्चरी क्लवको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । दुई दिनसम्म संचालन हुने प्रतियोगिताको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । मेयर जोशीले तारो हानेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात बोल्दै मेयर जोशीले खेल क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताउनु भयो । नगरको विकासमा खेलक्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । तारा खेल प्रति युवाको आकर्षण बढ्दै गएको भन्दै यसलाई व्यवस्थित बनाउन आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले देशलाई विश्वमा चिनाउने एक महत्वपूर्ण माध्यम भनेकै खेल क्षेत्र भएको भन्दै यसको विकासका लागि सहकार्यको आवश्यकता रहेको औल्याउनु भयो । तारा खेलले प्रतियोगितामा मात्र सिमित नहुने भन्दै यसले आफ्नो धर्म संसकृतिलाई पनि उजागार बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका ५ कि वडा अध्यक्ष चित्रकला भारती शर्माले र उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले खेलक्षेत्रको विकासका लागि सरकारी र निजि क्षेत्र विच सहकार्यको भूमिका आवश्यक रहेको औल्याउनु भयो ।

आनन्द आर्चरी क्लवका अध्यक्ष महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य आर्थिक संयोजक राजु तुलचन र संचालन मोदीकाली बुद्ध विकास संस्थाका सचिव विपिन गुरुङले गर्नुभएको थियो । कुश्मा गुम्वामा शुरु भएको प्रतियोगितामा ९ समुहको सहभागिता रहेको छ ।

प्रतियोगितामा पोखरा, म्याग्दी, कुश्मा लगायतका टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता हुने टिमले ४० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार सहित कप, मेडल र प्रमाण प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित गरि नगद ५ हजार प्रदान गरिने जनाईएको छ । उक्त खेल थकाली जातीमा प्रचालित छ ।