१२ भदौ, पर्वत । उपल्लो कालीगण्डकी जलाधार क्षेत्रमा पर्ने पाँच जिल्ला हेर्ने गरि भू तथा जलाधार ब्यबस्थापन कार्यालय पर्वतको कुस्मामा स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत रहने गरि कुस्मामा कार्यालय स्थापना गरिएको हो ।
पर्वतमा रहेको साविक भूसंरक्षण कार्यालयमा स्थापना गरिएको भू तथा जलाधार ब्यबस्थापन कायालयको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले उद्घाटन गरे । पर्वतमा स्थापना गरिएको कार्यालयले पर्वतका साथै बागलुङ्ग, म्याग्दी, मुस्ताङ्ग र स्याङ्गजा जिल्लामा भू तथा जलाधार ब्यबस्थापनको काम गर्नेछ । प्रदेश सरकार मातहत यस्ता कार्यालय दुई ठाउँमा मात्रै स्थापना भएका छन । पर्वत बाहेक तनहुँमा स्थापना भएको कार्यालयले कास्की, तनहुँ,लमजुङ्ग, गोर्खा, मनाङ्ग र नवलपुर जिल्ला हेर्नेछ ।

नयाँ कार्यालयले सडक कारण भएको भूक्षय नियन्त्रण, बिद्युत आयोजना, शहरी खानेपानीबाट सृजित भूक्षय तथा आकस्मिक पहिरो नियन्त्रण जस्ता ठुला भूक्षय नियन्त्रणका काम गर्ने प्रदेस सरकारको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब डा. बुद्धिसागर पौडेलले जानकारी दिए । साना काम स्थानिय तहले गर्ने भएकाले ठुला खालका संरक्षणका काम मात्रै नयाँ कार्यालयबाट हुने उनले बताए । ‘पहिले जस्तो दुई चार थान तारजाली बितरण गरेर बस्ने काम यो कार्यालयको होइन’ उनले भने ‘कालीगण्डकी जलाधार क्षेत्र कम्जोर भूभाग रहेको र बढी पहिरोको बढी जोखिम भएकाले त्यो रोकथाम र नियन्त्रण यसको कार्ययोजना हो’ ।
यस क्षेत्रमा बढी पानी पर्ने क्षेत्र भएका कारण पनि पहिरोको जोखिम बढी रहेको छ । पर्वतबाट निर्वाचित जनप्रतिनिधी बिकास लम्साल सम्बन्धीत मन्त्रालयमा मन्त्री भएका कारण पनि दुई वटा मात्रै रहने कार्यालय पर्वतमा एउटा आउन सकेको त्यस बखतमा चर्चा भएको थियो । कार्यालय उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेश सरकारको प्रभावकारी ढंगले काम गर्नका लागि तल्लो तहमा संरचनाहरु तयार गर्दै लगेको स्पष्ट पारे । भदौ १५ गते सम्म यस्ता कार्यालयहरु स्थापना गरि सक्ने प्रदेश सरकारको निर्णय अनुसार काम भैरहेको बताउँदै उपल्लो कालीगण्डकी जलाधार क्षेत्रको भूक्षय नियन्त्रण तथा पर्यावरण संरक्षण गर्न कार्यालयले महत्वपुर्ण भूमिका खेल्ने बिश्वास गरे । ‘हाम्रो भूभागमा रहेको भूक्षय समस्या समाधान गर्नका लागि मात्रै होइन दिर्घकालिन रुपमा समस्या समाधानका लागि यो कार्यालयले काम गर्नेछ’
भू तथा जलाधार ब्यबस्थापन कार्यालयका निमित्त प्रमुख रोर्वट महराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, म्याग्दीका प्रमुख देबेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्वत उद्योग बाणिज् संघका अध्यक्ष केदारनाथ शर्मा र कार्यालयका लेखापाल जनकराज पौडेल लगायतले शुभकामना दिएका थिए ।




