Print

ठेकेदारको चरम लापरबाही, दोविल्ला–फलेवास खण्डको कालोपत्रे उक्कियो

९ साउन, पर्वत । कुश्मा नगरपालिका–११ मा करोडौँ खर्च गरेर बनाएको दोबिल्ला–फलेवास सडक खण्डको कालोपत्रे दुई महिना नपुग्दै उक्किएकाे छ भने सडककाे सिल्मी बन क्षेत्रमा २ सय मिटर सडक भासिएकाे छ । सडक डिभिजन कार्यालय, बाग्लुङसँग ठेक्कामा लिएर फेवा कन्स्ट्रक्सन प्रालिले गरेको सो कालोपत्रे दुई महिना पनि टिक्न नसकेपछि जिल्ला प्रशासन कार्यालय, पर्वतले अनुगमन गरेको छ । सडक डिभिजन कार्यालय, बाग्लुङले  नियमित अनुगमन नगर्दा सडककाे अधिकांस स्थान बिग्रिएकाे छ ।

गत जेठको अन्त्यतिर मात्र पिच गरिएको उक्त सडक निर्माण कार्य नसकिँदै वर्षाको पानीले बगाएर लगेको छ । गुणस्तरीय काम नभएकाले सडकका अधिकांश स्थानमा बनाइएका टेवा पर्खाल भत्किएका छन् भने सिल्मी फाँट स्थित घुम्तिमा करिब ५० मिटर सडक बिग्रिएको छ । सडकका ठाउँ ठाउँमा खाडल भएपछि सवारी चलाउन समस्या भएको सवारीचालक र स्थानीयले बताएका छन् ।

सडक डिभिजन कार्यालय, बाग्लुङसँगको सम्झौताअनुसार उक्त सडक गत असार मसान्तमै सक्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमा काम नसकेको, काम सकिएका ठाउँमा कालोपत्रे गुणस्तरीय नभएको जिल्ला प्रशासन कार्यालय, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख डिभिजिन इन्जिनियर थानेश्वर खत्रीका अनुसार सो सडकखण्डको सिल्मी घुम्तिमा भत्किएको सडक आफूहरूको डिजाइनभित्र नभएकाले पुनः काम गरिने बताउनुभयो । उहाँले सडकको पीच उप्किएको आफूहरूलाई पनि थाहा भएको र मर्मतका लागि पुनः निर्माण कम्पनीलाई पठाउने बताउनुभयो । उहाँले सडकको सबै काम सम्पन्न भइनसकेकाले थप मर्मत गरिने जानकारी दिनुभयो ।

सिल्मी वन क्षेत्रमा समेत करिब एक सय मिटर सडक भासिएको छ । सडकको सुरुवाती अवस्थामा भू–बनोटको बारेमा अध्ययन नभएका कारण यस्तो समस्या आएको कार्यालयले जनाएको छ । यो अहिले गरेको काम होइन, खत्रीले भन्नुभयो, कमजोर भू–धरातलका कारण भासिन सुरु गरेको हुनसक्छ ।

जिल्लाको दक्षिणी पालिकालाई जोड्ने गरी निर्माण थालिएको सो सडक खण्डको पहिलो चरणमा चार वर्षअघि सकिएको सडक पनि छ महिना नपुग्दै भत्किएको थियो । दोस्रो चरण अन्तर्गत सुरु गरिएको सात किलोमिटर सडकको पाँच किलोमिटरमा काम सकिएको र बाँकी काम अलपत्र अवस्थामा रहेको छ । गत असार मसान्तमा सक्ने भनिए पनि हालसम्म बाँकी दुई किलोमिटर सडक भने काम सुरु नै नभएको सडक डिभिजन कार्यालय, बाग्लुङका प्रमुख खत्रीले बताउनुभयो ।

कार्यालयका अनुसार सात किलोमिटर सडकका लागि करिब १३ करोडमा सम्झौता भएको बताइएको छ । निर्माण कम्पनीलाई समयमा भुक्तानी दिन नसक्दा काम ढिला भएको र समयमे सडकको सबै काम सक्ने गरी तयारी भएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।