Print

पहिरोको पिडा : ‘एक्लो छोरो दैवले लग्यो’

२ साउन, पर्वत । परिवारको एक्लो छोरा । उसैको सहारामा थिए बाबु आमा । साउने संक्रान्तीको दिन । जलजला गाउँपालिका वडा नम्बर ८ स्थित लस्तीको बेरनेटाका बमबहादुर परियारको घरमा छुट्टै रौनक थियो । श्रीमति रुपा र छोरो विकाससँगै हासीखुशी खाना खाएर सुतेका बमबहादुरकोे परिवारको खुशी केही घण्टामै समाप्त भएको छ ।

राती १० बजे सुतेका उनीहरु १ बजे ठुलै बिपत्ति आइलाग्यो । घरमाथिबाट आएको पहिरोले छोरो विकास गुमाएपछि अहिले विक्षिप्त भएका छन बमबहादुर र उनकी पत्नी रुपा । विकास आगामी असोजमा १६ बर्ष पार गर्दै थिए । तर सँगै खुशीसाथ सुतेको छोरा मध्यरातमा पहिरोले लगेपछि बाबुआमा अर्धचेत अवस्थामा रहेका छन् ।

सुतीरहेकै बेला ठुलो आवाज आएको र आफुलाई ढुंगाले लागेपछि निद्रा खुलेको बमबहादुरले बताए । निद्रा खुल्नेबित्तिकै बाहिर निस्कदा घरको पालीसहित छोरो हराएको उनको भनाई छ । श्रीमति रुपालाई बोलाएर उद्दार गरेपनि छोराको मृत्युले बाच्नु न मर्नु भएको उनले पीडा सुनाए । दुई छोरी र एक छोराका बाबु बमबहादुरको दुई वटा छोरीको बिवाह भइसकेको छ ।

बेलुका खाना खाएर सुत्नुअघि विकासले आमा रुपालाई बिहान ५ बजे नै खाना तताइदिनु काममा जानुछ भनेका थिए । ‘बाहिर निस्कदा घरको पाली नै थिएन, त्यही पालीमा छोरो सुतिरहेको थियो’ अर्धचेत अवस्थामा रहेकी रुपाले रुँदै भनिन–‘मेरो छोरोलाई त चरो उड्दाजस्तै गरी लग्यो नी ।’

यसैगरी लस्तीखोलामा आएको बाढीले लस्तीबजार नै जोखिममा परेको छ । खोलाको बाढीले जमिन कटान जारी राखेको छ । लस्तीबजारका दिननाथ आचार्य, कृष्णबहादुर पुन, लक्ष्मी नेपाली, समिक्षा चोचाङ्गी, मानबहादुर चोचाङ्गी, बम्बे दमाईको घर जोखिमा परेको छ । जमिन खोलाले कटान गर्दै घरमै पुगेको दिननाथ आचार्यले जानकारी दिए ।      by sarathinews.com