२ पर्वत, साउन । जिल्लाको जलजला गाउँपालिका वडा न ८ नाङलीवाङमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ । नाङलीवाङको लस्ति बजार नजिकको दलित बस्तीमा गएको पहिराले पुर्दा १६ बर्षिया विकास परियारको मृत्यु भएको हो ।
रातको समयमा आएको पहिरोमा परिवारका अन्य सदस्यले भने भागेर ज्यान बचाएका छन । परियार भने सुतिरहेकै स्थानमा पहिरोले पुरेको नाङलीवाङका वडा अध्यक्ष हरीविकास जिसीले बताए । परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । पहिरोले पुरिएको अवस्थमा उनको शव नेपाली सेनाले निकालेको थियो ।
परियारको मृत्यु पछि परिवार र सिंगो लस्ति बजार शोकमग्न छ । पहिरोले पुरीएर मृत्यु भएका परियारको परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले घटना स्थलमा नै पुगेर तत्कालका लागि १ लाख राहत प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले उक्त रकम परिवारलाई बुधवार नै हस्तान्तरण गरे ।
यसैगरी बुधवार विहानै गएको पहिरोका कारण जलजला गाउँपालिककै धाइरिङमा ३ जना गम्भिर घाइते भएका छन । घाइेतहरुमा नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्य रहेका छन ।
उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ लगिएको छ । घाइते मध्ये नारायणी आचार्य गम्भिर रहेको प्रहरीको भनाई छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं लैजाने गरी तयारी पनि भईरहेको प्रजिअ ढकालले जानकारी दिए ।
पहिरोको उच्च जोखिममा रहेका लस्तीका झण्डै १ दर्जन घरपरिवारलाई स्थानीय विद्यालयमा तत्कालका लागि आश्रय दिने गरी तयारी भईरहेको जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले बताए ।
प्रशासन र स्थानीय तहसंगको समन्वयमा वस्ती नै स्थानान्तरण गर्ने विषयमा समेत छलफल भईरहेको विश्वकर्माको भनाई छ ।




