१४ फागुन, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आवधिक योजना निर्माण कार्य शुरु गरेको छ ।
गाउँपालिकाले आज देखि २ दिने गोष्ठि मार्फत आवधिक योजना निर्माण कार्यको शुरुवात गरेको हो ।
आगामी ५ बर्षका लागि मोदी गाउँपालिकाको सम्बृद्धिका लागि आवधिक योजना निर्माण कार्यको शुरुवात गरिएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले जानकारी दिए ।
योजना निर्माण कार्यका लागि सोमबार कास्कीको लुम्लेमा एक गोष्ठिको आयोजना गरिएको छ ।
गोष्ठिमा विषयविज्ञ जुद्धबहादुर गुरुङ र विरेन्द्र अधिकारीले सहजीकरण गरेका छन ।
उक्त गोष्ठिमा पूर्वाधार तर्फका क्षेत्र र सामाजिक विकासका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी सम्बृद्ध मोदी निर्माणको लागि योजनागत रुपमा अभिमुखीकरण गरिने प्रबक्ता लामिछानेको भनाई छ ।
गोष्ठि लगतै गाउँपालिकाले वडागत रुपमा योजनाहरु निर्माण गरी कार्यान्वयनको चरण शुरुवात गर्नेछ ।
उक्त गोष्ठिको सोमबार राष्ट्रिय सभा सदस्य गणेश प्रसाद तिमिल्सीनाले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै तिमिल्सीनाले संघियतालाई सफल बनाउन स्थानीय तहहरुले आफ्नो श्रोत र साधनको समुचित प्रयोग गरी विकास निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश न ४ का सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य विकास लम्साल र जुनादेवी नेपालीले समेत मन्तब्य ब्यक्त गरेका थिए ।
मोदी गाउँपालिकाका अध्यक्षव प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सेती महत र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले गरेका थिए ।
कार्यक्रममा पर्वत जिल्लाबाट निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान प्रदान गरिएको प्रवक्ता लामिछानले जानकारी दिए । उक्त गोष्ठि २ दिनसम्म चल्नेछ ।
जलश्रोत र पर्यटन क्षेत्रमा जिल्लामै अगाडी देखिएको गाउँपालिकाले सम्बृद्धिको खाका कोर्ने कार्यमा गोष्ठि सफल हुने विश्वास गरिएको छ ।




