३ पुस, पर्वत । आगामी पुस ७ गते कुश्मा नगरपालिकाको नगर सभा आयोजना गर्ने गरी तयारी थालिएको छ । जनप्रतिनिधिहरु वीच निर्देशिका निर्माण र बजेट बाँडफाँडका विषयमा रहेको विवाद समाधान भएसंगै नगरपालिकाको नगर सभा हुन लागेको हो ।
नगरपालिका श्रोतका अनुसार वडास्तरका योजनाहरु र नगर स्तरीय योजनाहरुको बाँडफाँडमा जनप्रतिनिधि वीच सहमति जुटेको छ । नगर सभा पुस पहिलो हप्ता भित्रै गर्ने गरी जनप्रतिनिधिहरु वीच सहमित भएकाले सोहि बमोजीमको तयारी भईरहेको नगरप्रमुख रामचन्द्र जोशीले पर्वत न्युज डटकमलाई जानकारी दिए । श्रोतका अनुसार झण्डै ४३ करोड बराबरको बजेट ल्याउने गरी नगरकार्यपालिकाले तयारी गरेको छ ।
बजेट मध्ये ६ करोड बराबरको चालु खर्च र ३७ करोड बराबरको विकास बजेट ल्याउने गरी तयारी भएको छ । प्रत्येक वडामा झण्डै ४२ लाख बराबरका वडा स्तरीय योजनाहरु तय भएका छन भने झण्डै ५ करोड बराबरका ठूला नगर स्तरीय योजनाहरु तय गरिएका छन । बजेटमा कुश्मा नगरपालिका भित्रका बजार क्षेत्रमा सोलार विद्युत जडान देखि सडक स्तरोउन्नतीका योजनाहरु समावेश गरिएका छन । श्रोतका अनुसार बजेटमा साइकल चोक देखि ठुलिपोखरी हुँदै खौलासम्मको सडकलाई प्राथमिकता दिइएको छ । आगामी बजेटमा दोविल्ला पकुवा गगटे आर्थर सडकको स्तरउन्नतीको लागि बजेट विनियोजन भएको छ ।
यस बाहेक पाङ, खुर्कोट, दुर्लुङ, चुवाका सडकहरुमा समेत बजेट विनियोजन भएको छ । बजेटमा पकुवा–गगटे आर्थर सडकका लागि समेत बजेट विनियोजन गरिएको बताईएको छ । बजेटमा सञ्चार र पत्रकारीता सबलीकरणलाई समेत विशेष ध्यान दिइएको नगरप्रमुख जोशीको भर्नाइ छ । कुश्मामा ल्याडफिल्ड निर्माण देखि नगर गुरु योजना निर्माणलाई समेत प्राथमिकतामा राखि बजेट बिनियोजन गरिएको छ । आन्तरीक आयमा विशेष बृद्धिका रणनीतिहरु अवलम्बन गरी बजेट नीति तथा कार्यक्रमहरु तय गरिएका छन ।




