पर्वत १९ कार्तिक । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतमा २८ जना उम्मेदवार कायम भएका छन् ।
निर्वाचन आयोगले गत विहीवार दर्ता गरेका उम्मेदवारहरुलाई फिर्ता लिन आइतवार १ बजे सम्मको समय दिएको भएपनि पर्वतमा एक जनाले मात्र फिर्ता लिएका हुन् । नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला विकास समितिका उपसभापति राम शर्मा पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको पर्वतमा मुख्य तीनवटै पदका लागि अब २८ जनाको उम्मेदवारी कायम भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । जसमध्ये प्रतिनिधि सभाका लागि १४ जना र प्रदेश सभा क्षेत्र नं. १ मा ६ र क्षेत्र नं. २ मा ८ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधि सभामा ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि शर्माले फिर्ता लिएका हुन । त्यस्तै क्षेत्र नं. १ तर्फ ११ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र प्रदेश क्षेत्र नं. २ मा १२ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले आइतवारै उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिसकेको जनाएको छ । कार्यालयमा उम्मेदवार दर्ता गरेका दलका र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
प्रदेशसभाको लागि प्रदेश क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका नवराज गुरुङ र बाम गठबन्धन बाट माओवादीका नेत्र अधिकारी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट राजेन्द्र तिवारी र एमालेका तर्फवाट पूर्व सांसद विकास लम्सालबीच प्रतिस्पर्धा हुने भएको छ ।
आगामी निर्वाचनका लागि पर्वतमा कुल १ लाख ७ हजार ३ सय मतदाता रहेका छन् । जिल्लाभर ७४ मतदान स्थल र १३९ मतदान केन्द्र छन् ।
त्यस्तै प्रतिनिधिसभामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)बाट तिलकप्रसाद शर्मा पौडेल राष्ट्रिय जनमोर्चाबाट गोविन्द प्रसाद पौडेल , नयाँ शक्ति पार्टी, नेपालबाट यम बहादुर चोचाङ्गी पुन, मंगोल नेशनल अर्गनाइजेसनबाट लालकुमारी थापारानाले पनि उम्मेदवारी दर्ता गराएका छन ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी बाट मनकुमारी पुन मगर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट कुश्माखर भुसाल, संघीय समाजवादी फोरम नेपालबाट जीत बहादुर गुरुङ्ग, नेपाल कम्युनिष्ट पार्टी (माले)का हरीहर थापा, गान्धीवादी पार्टी नेपालबाट राजेन्द्र नेपालीले पनि उम्मेदवारी दिएका हुन ।
भने स्वतन्त्रबाट इन्दुदेवी शर्मा, तर्कबहादुर सुनार, विनोद कुँवरको उम्मेदवारी कायम रहेको छ ।
त्यसैगरी प्रदेश सभा तर्फ क्षेत्र नं. १ मा राष्ट्रिय जनमुक्ति पार्टीका टिकाराम पुन मगर, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट महान बहादुर गुरुङग राष्ट्रिय जनमोर्चा राजेन्द्र प्रसाद शर्मा, नयाँ शक्ति पार्टीबाट महेन्द्र जंग लामीछानेको उम्मेदवारी दर्ता भएको छ भने क्षेत्र नं. २ तर्फ राष्ट्रिय जनमुक्ति पार्टीका टोकेन्द्र राना, स्वतन्त्र यज्ञ प्रसाद तिवारी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट जित बहादुर सार्की, राष्ट्रिय जनमोर्चा डोलनाथ भुसाल, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट लिलाधर आचार्य, नयाँ शक्ति पार्टी, नेपालबाट ओम बहादुर भण्डारीले उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




