Print

बाम एकताले पर्वतमा उत्साह, जिल्ला देखि वडासम्म संयोजन कमिटि

१८ कार्तिक, पर्वत । देशमा रहेका बामपन्थीहरुको एकताले देश भरै उस्तै पर्वतमा उत्साह छाएको छ । जिल्लामा रहेका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता वीच उत्साह छाएको छ । लामो समयसम्म वैचारिक रुपमा एक ठाउँमा भएर पनि संगठनात्मक रुपमा विभाजीत बाम गठबन्धन एक ठाउँमा आएसंगै जिल्लाका कार्यकर्ताहरु उत्साहित भएका छन ।

माओवादीले सञ्चालन गरेको दशक बढिको युद्धपछि देशमा ठूलो दुई बामपन्थी उदाए । त्यसको एक दशक पछि भने कम्युनिष्ट केन्द्र निर्माण गर्नका लागि बाम तालमेल र पाटी एकताको घोषणा भएको छ । यसले जिल्लामा कम्युनिष्ट पाटी भित्र रहेका कार्यकर्ताहरुमा उत्साह छाएको माओवादी केन्द्र पर्वतका नेता कृष्ण पराजुली बताउँछन ।

देशमा सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिमा यो एकता सार्थक हुने उनको भनाई छ । ‘फुटेर होइन जुटेर हो देश बनाउने’ माओवादीका अर्का नेता ढाकाराम गौतम भन्छन–‘यसले आगामी चुनाव जित्न हामीलाई थप सहज भएकोछ ।’ माओवादी र एमाले मिल्दा देशभर स्पष्ट बहुमत आउने भएकाले पनि बाम एकताले देश विकास हुनेमा अधिकांश बौद्धिक ब्यक्तित्वहरु आशाबादी छन । जिल्लाका बाम आन्दोलनका नेता तोयानाथ चालिसेले यो एकता धेरै पहिला हुनुपर्ने धारणा राख्छन ।

माक्सवार्द र लेलिनवादको सिद्धान्त बमोजीम जननेता मदन भण्डारीको बहुदलीय जनवादको आधार विन्दुमा नेपालका कम्युनिष्टहरु अगाडि बढनुपर्ने उनको धारणा छ । माओवादी र एमालेको एकताले जिल्लामा बामपन्थीको झण्डा फहराउने अभियान अव सफल हुने भन्दै अर्को नेता गणेश शर्मा पौडेलले बाम सरकार विना अव देश विकासको परिकल्पना गर्नु वेर्थक हुने धारणा राख्छन । २०६४, २०७० सालको संविधान सभाको निर्वाचनमा माओवादी र एमालेले एकता गरेको भए देशभर ६० प्रतिशत मत आउने थियो ।

पौडेलले भने भाई फुटेको भएर अरुले देश लुट्ने अवसर पाए । राष्ट्र बचाउन बाम सरकार चाहिने भएकाले आगामी चुनावमा सूर्य र हसियाँ हतौडा भित्र मतदान गर्न आब्हान गर्दै माओवादी केन्द्रका नेता तथा प्रदेश सभाका उमेदवार नेत्र अधिकारीले सम्बृद्ध नेपालको परिकल्पना बाम शक्तिसंग भएको जिकिर गर्छन । उता प्रतिनिधि सभाका सदस्यका उमेदवार एमाले अध्यक्ष तथा युवा नेता पदम गिरीले देशलाई आगामी २० बर्षमा सम्बृद्ध राष्ट्र बनाएर विश्व सामू विकसित देशको सुचिमा राख्न बाम एकता सार्थक हुने धारणा राख्छन ।

योसंगै पर्वतमा जिल्ला स्तरीय समन्वय कमिटिको गठन भएको छ । एमाले र माओवादीका नेताहरु मिलेर समन्वय कमिटि निर्माण गरेका हुन । एमालेको तर्फबाट उपाध्यक्ष भक्त कुवंर र उप सचिव गोविन्द पहाडी तथा माओवादीको तर्फबाट नेता सुदिप कुवर र केशवराज कुवंर उक्त समितिमा छन । जिल्ला स्तरीय समन्वय कमिटिले वडा र तल्लो तहसम्म पनि एकता समन्वय कमिटिको गठन गर्ने तयारी गरेको छ । एकताको सन्देश दिन माओवादी र एमालेका जनवर्गीय संगठनहरुको संयुक्त वैठक शुरु भईसकेको छ ।

एमाले निकट युवा संघ र माओवादीको वाइसिएलको संयुक्त वैठक बसिसकेको छ । युवा संघ पर्वतका अध्यक्ष विमल लामिछानेले युवाहरु एकताले निकै उत्साहित भएको बताउँछन । देशमा समाजबादी क्रान्तिमा यो एकता सफल हुने उनको धारणा छ ।

उता, बाम पत्रकारहरुका संगठन प्रेस चौतारी र प्रेस सेन्टरको पनि वैठक बसिसकेको छ । योसंगै वडा र स्थानीय तहहरुसम्म संयुक्त वैठक बस्ने र आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी गर्ने गरी अभियान सञ्चालन गरिने समन्वय कमिटिका सदस्य एमाले उपाध्यक्ष कुवंर बताउँछन ।