Print

प्रदेश र संघमा पर्वतबाट चुनाव लड्ने यी हुन एमाले र कांग्रेसका नेताहरु

२८ भदौ, पर्वत । आगामी मंसीरमा हुने प्रतिनिधि सभा (संघ) र प्रदेश सभाको निर्वाचनको कार्य तालिका सार्वजनिक भईसकेको छ । निर्वाचन आयोगको तालिका अनुसार पर्वतका लागि आगामी कार्तिक १६ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ । कार्तिक १६ आउन अव झण्डै डेढ महिना मात्र बाँकी छ । यो अवधिमा संघ र प्रदेश सभाका लागि चुनावी मैदानमा उठ्ने नेताहरुको बारेमा जिल्लामा चर्चा शुरु भएको छ । मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेस वीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित छ । जिल्लामा अन्य साना दलहरु रहेको र उनीहरुको पनि उमेदवारी भने रहने अनुमान गरिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनमा बहुमत सहित पहिलो पार्टी बनेको नेकपा एमाले र दोस्रो दल नेपाली कांग्रेस मध्ये कुन दलले आगामी निर्वाचनको मतपरिणामलाई आफ्नो पक्षमा पार्ने हुन त्यसको लागि भने मंसीर २१ गते कुर्नु पर्छ । मंसीर २१ गतेको मतदानका लागि भने संघका लागि १ जना र प्रदेशका लागि २ जना पर्वतबाट विजयी हुनका लागि पार्टीहरु भित्र को कस्को उमेदवारी रहनसक्छ भन्ने आम चासोको यति बेला बढिरहेको छ । केन्द्रिय सरकार गठनका लागि हु्न प्रतिनिधि सभा (संघ)को निर्वाचनका लागि पर्वतले १ जना पाउनेछ ।

नेकपा एमाले भित्र संघको निर्वाचनमा उठ्ने गरी केहि नेताहरुको चर्चा शुरु भएको छ । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गणेश प्रसाद तिमिल्सीना, केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, कुश्मा नगर कमिटिका संयोजक याम गुरुङ र सांसद विकास लम्साललाई केन्द्रिय सरकार गठनका लागि हुने प्रतिनिधि सभाको निर्वाचनको आकाक्षीको रुपमा चर्चा गरिएको छ । पार्टी भित्र भने आन्तरीक छलफल शुरु भएको छैन । सांसद लम्सालले यसअघि देखि नै आफ्नो उमेदवारी केन्द्रिय निर्वाचनमा रहने घोषणा गर्दै आइरहेका छन् यद्यपि अरु नेताहरुले भने पार्टी भित्रको आन्तरीक छलफल पछि मात्रै उमेदवारी टुंगाउने बताउँदै आएका छन । प्रदेश न ४का सह संयोजक समेत रहेका तिमिल्सीना प्रदेशका लागि मुख्य मन्त्रीसम्मको दावेदारको रुपमा अगाडि आउन सक्ने भएकाले तिमिल्सीना संघ वा प्रदेश मध्ये कुन क्षेत्रमा रहने भन्ने निधो भईनसकेको उनी निकट कार्यकर्ताहरु बताउँछन । उता, अनुशासन आयोगका सदस्य पौडेलले लोकप्रियताको हिसावले आफूलाई नेतृत्वले जहाँ उपयुक्त ठान्छ त्यहि आफ्नो उपस्थिती रहने बताउँदै आएका छन । तिमिल्सीना र पौडेलले समर्थन गरेमा मात्रै लम्सालको उमेदावरीको सम्भावना छ ।

उता, नेपाली कांग्रेसमा भने एक मात्र दावेदारको रुपमा सांसद अर्जुन जोशीलाई हेरिएको छ । तीन पटकसम्म जनमत जितेर सांसद बनेका जोशीले भने आफू चुनावमा लड्न तयारको तर  कार्यकर्ता र पार्टीका नेताहरुको मनोभावना पछि मात्रै निर्णय गर्ने बताएका छन । पार्टी भित्र अरु कोहि उमेदवार बन्न चाहेमा र नेतृत्वले टिकट दिएमा आफूले पार्टीलाई जिताउन लागी पर्ने बताउँदै आएपनि जोशी बाहेक संघमा चुनाव लड्ने गरी अरु नेताको भने चर्चा छैन । उनलाई नेपाली कांग्रेसले केन्द्रिय निर्वाचनका लागि उमेदवार बनाउने निश्चित प्रायः छ । नेपाली कांग्रेस पर्वतमा निकै बलिया नेताको रुपमा जोशी चिनिन्छन । पछिल्लो समय मन्त्री पदको अन्तिम राउण्डमा फालिएपछि उनको चर्चा यतिबेला देशभरी चुलिएको छ । केन्द्रिय निर्वाचनमा नेपाली कांग्रेसबाट पर्वतमा जोशीको उमेदवारी निश्चित जस्तै बनेकाले एमालेबाट जोशीलाई टक्कर दिने नेतालाई उठाने अनुमान गरिएको छ ।

प्रदेश निर्वाचनका लागि जिल्लामा दुई वटा निर्वाचन क्षेत्र हुँदैछन । साविककै निर्वाचन क्षेत्रहरु यथावत रहने भएकाले क्षेत्र न १ मा नेकपा  एमालेको तर्फबाट जिल्ला अध्यक्ष समेत रहेका पदम गिरीको उमेदवारी पक्का जस्तै भएको छ । स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकामा मेयर पदमा कार्यकर्ताले चर्चा गरेपनि प्रदेश निर्वाचनका लागि उनले आफ्नो उमेदवारी प्रस्तुत गरेका थिएनन । बिद्यार्थी राजनीतिबाट छोटो अवधिमै जिल्लामा आफ्नो पकड बनाउन सफल नेता गिरीको उमेदवारी स्थानीय तहको निर्वाचनको बेला उमेदवार टुंगाउने समयमा एमाले भित्र पक्का जस्तै भएको बताईन्छ । एमाले भित्र बलियो युवा नेताको रुपमा क्षेत्र न १ बाट पदम गिरीलाई एमालेले उठाउने सम्भावना छ भने यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न नपाएका पार्टी उपाध्यक्ष भक्त कुवंर र कुश्मा नगरपालिकाको मेयरमा दावेदार रहेका पार्टी उप सचिव  गोविन्द पहाडीलाई पार्टी जिम्मेवारी दिने गरी उमेदवारी टुंगाउने सम्भावना देखिन्छ । प्रदेश निर्वाचनमा  दावा गर्नसक्ने प्रदेश कमिटि सदस्य मनोहर वि. पौडेल जिल्ला समन्वय समितिको प्रमुख र क्षेत्रीय अध्यक्ष शान्त पौडेल स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा चुनाव लड्ेका कारण पनि अध्यक्ष गिरी प्रदेश निर्वाचनमा उमेदवार बन्न निश्चितः प्राय छ ।

उता, क्षेत्र न २ मा भने एमाले भित्र आकाक्षीहरुको संख्या धेरै देखिन्छ । प्रदेश कमिटि सदस्य मोती पौडेल, नेता देवेन्द्र पाण्डे, पर्वत काठमाण्डौं सम्पर्क मञ्चका सचिव पूर्ण गौतम मध्ये एक जना क्षेत्र न २ मा उमेदवार बन्ने सम्भावना छ । पौडेल पहिलो संविधान सभाको निर्वाचनमा क्षेत्र न २ का उमेदवार हुन भने पाण्डे र गौतम नयाँ अनुहारको रुपमा क्षेत्र न २ मा दावेदारको रुपमा अगाडि आउन सक्ने देखिन्छ ।

यसैगरी नेपाली कांग्रेस भित्र प्रदेश निर्वाचनमा भने आकाक्षीहरु धेरै देखिन्छ । क्षेत्र न १ मा यस अघि नगर प्रमुख पदका दावेदारको रुपमा रहेका डा. चूडामणी शर्मा, पार्टी पुर्व सभापति लालकाजी गुरुङ, कांग्रेसका जिल्ला नेताहरु बसन्तकुमार सिके, युवराज जोशी, विद्धान गुरुङ लगाएतको नाम चर्चामा छ । ति मध्ये एक जनालाई नेपाली कांग्रेसले उमेदवार बनाउने सम्भावना छ । पार्टीको आन्तरीध धुव्रीकरण मिलाउने गरी पार्टीले यी बाहेककालाई उमेदवार बनाउने पनि सम्भावना रहेको कार्यकर्ताहरु बताउँछन ।

क्षेत्र न २ मा भने नेपाली कांग्रेसबाट यस अघि फलेवास नगरप्रमुखमा दावेदार रहेकी राधाकुमारी क्षेत्री, पार्टी सचिव युक्त श्रेष्ठ, फलेवास नगरपालिकाको प्रमुख पदमा पराजय भएका गंगाधर तिवारी, पुर्व सांसद ऋषीकेश तिवारी, खगेन्द्र तिवारी र नेता राजेन्द्र तिवारीको चर्चा छ । उनीहरु मध्ये एक जनाले टिकट पाउने सम्भावना छ । यद्यपि यस अघिको दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र न २ मा उमेदवार बनेका नेता नवराज गुृरुङ पनि संघ छाडेर प्रदेशको निर्वाचनमा चुनाव लड्ने भएमा उनले क्षेत्र न २ को टिकट पाउने प्रवल सम्भावना देखिन्छ । यदि गुरुङलाई समानुपाति वा क्षेत्र न १मा उमेदवार बनाएमा भने क्षेत्र न २ मा अरु नेताहरुले अवसर पाउनसक्नेछन ।

यसरी प्रदेश र संघको निर्वाचनमा एमाले र कांग्रेस वीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उमेदवार दिने समय अझै बाँकी रहेको हुँदा पार्टी भित्र हुने आन्तरीक छलफल र पैरवीले नेताहरुको समीकरण र उमेदवारीको टुंगो भने फरक किसिमले पनि लाग्न सक्ने अनुमान गर्न सकिन्छ ।