१५ असार, पर्वत । जिल्लाका सवै सरकारी कार्यालयहरुको सेवालाई एकिकृत रुपमा उपलब्ध गराउनका लागि जिल्लाको पैयू गाउँपालिका स्थित हुवासमा आयोजीत घुम्ति शिविरमा कृषकले पाउने सहुलियत र प्रोत्साहन वापतको रकम प्रदान गरिएको छ । थोरै रकम लिन सदरमुकामसम्म आउँदा धेरै खर्च हुने भएकाले स्थानीय तहमै कार्यालयले कृषकले पाउने सुविधाहरु उपलब्ध गराएको हो ।
घुम्ति शिविरको अवसरमा चैते धान लगाए वापत कृषकले कार्यालयबाट पाउने प्रोत्साहन रकम प्रदान गरिएको थियो । प्रति रोपनी २ सय ५० का दरले कृषकहरुले चैते धान वापत प्रोत्साहन रकम पाउने गर्छन । उक्त रकम लिन सहज होस भन्ने उद्देश्यले कार्यालयले घुम्ति शिविरमा सेवा उपलब्ध गराएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
रकम प्रदानको औपचारिक शुरुवात गर्दै रेग्मीले कार्यालयले प्रवाह गर्ने सवै सेवा कृषक तहमा भएकाले कृषकहरुको मागलाई मध्यनजर गर्दै गाउँबाटै सेवा प्रदान गरिएको जानकारी दिए । सेवाकेन्द्रहरु समेत टाडा हुने कृषकहरुले घुम्ति शिविरबाट सेवा लिएका छन ।
यसैगरी घुम्ति शिविरमा विशेषज्ञ सेवा लिन पाएपछि स्थानीय हर्सित बनेका थिए । जिल्ला स्वास्थ्य कार्यालयले प्रदान गरेको स्वास्थ्य सेवा लिनका लागि स्थानीयबासी लामबद्ध भएका थिए । जिल्ला अस्पतालका मेडिकल सुपरीडेण्टन डा. बुद्धिबहादुर थापाको नेतृत्वमा पुगेको विशेषज्ञ टोलीले निःशुल्क औषधि सहितको सेवा उपलब्ध गराएको थियो । १ सय ५० भन्दा बढिले उक्त अवसरमा सेवा लिएको कार्यालयले जनाएको छ ।