२३ जेठ, पर्वत । अपांगता भएका बालबालिकाको शैक्षिक अधिकार विषयक अन्तरक्रिया कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । कार्यक्रमका अधिकांश बक्ताहरुले सबै बालबालिकाको आफू अनुकुलको शिक्षा पाउने नैसर्गिक अधिकार भएकाले अपांगता भएका बालबालिकालाई पनि उनीहरुको अवस्थाअनुसारको जीवनोपयोगी शिक्षा दिने व्यवस्था गरिनुपर्ने कुरामा जोड दिएका छन् ।
अपांगता भएका बालबालिकाहरुले अनेक बहानामा शिक्षा पाउने संवैधानिक अधिकारबाट बञ्चित हुन परिरहेको समाचारहरु आइरहेको सन्दर्भमा पर्वत जिल्लामा अंपाग बालबालिकाको शैक्षिक अवस्था, सम्भावना र चुनौतीका बारेमा सरोकारवालाहरुका बीचमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वत, नागरिक समाज सञ्जाल र नेपाल अपांग उत्थान समाजले आइएनएफ नेपालसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा नेपाल अपांग उत्थान समाजका कार्यक्रम संयोजक जगन्नाथ शर्माले अपांगता भएका बालबालिकको शैक्षिक अधिकार र वर्तमान अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै अधिवक्ता विश्वराज पाण्डेयले घरपरिवार, समाज र विद्यालयलाई अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिहरुका पक्षमा बनेका नियम कानूनको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए । अन्तरक्रियामा किशोर सापकोटा, शिवप्रसाद शर्मा, पूर्णहरी रेग्मी, हरीदत्त शर्मा, घनश्याम बसेललगायतका अभियन्ताहरुले आआफ्ना मन्तव्य राखेका थिए ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव यज्ञप्रसाद शर्माले गरेका थिए ।




