Print

यस्तो छ पर्वतका ७ स्थानीय निकायमा मतपरिणामको पूवार्नुमान

१ जेष्ठ, पर्वत । जिल्लाका ७ स्थानीय निकायको मतपरिणामको पूर्वानुमान शुरु भएको छ । अहिले ११ बजेबाट शुरु भएको मतगणनाको कार्यकर्ताहरुले पूर्वानुमान गर्न शुरु गरेका छन । हिजो सम्पन्न मतदानमा झण्डै ७० प्रतिशत मत खसेको थियो ।
खसेको मत मध्ये जलजला गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस वीच नै प्रतिस्पर्धा हुने देखिएको छ । उक्त गाउँपालिकामा केन्द्र विवादका कारण मतहरु केहि विभाजन भएपनि अधिकांश मतहरु भने उमेदवारको सक्षमता र पार्टीको चुनाव चिन्ह्मा खसेका छन । एमालेका लालबहादुर अधिकारी र कांग्रेसका रामकृष्ण मल्ल वीचको प्रतिस्पर्धामा बढिमा ३ सय मतान्तर हुने अनुमान गरिएको छ । उपप्रमुखमा भने एमालेकी अनिता शर्मा बलियो देखिएकी छिन । कांग्रेसकी सिमा पुनलाई शर्माले उछिन्न सक्ने अनुमान गरिएको छ ।

यसैगरी कुश्मा नगरपालिका पनि प्रतिस्पर्धा हुने देखिएको छ । कुल मतहरु मध्ये एमाले र कांग्रेस वीच नै प्रतिस्पर्धामा देखिएका छन । यस अघि नेपाली कांग्रेसका उमेदवार रामचन्द्र जोशी बलियो मानिएका थिए । नेपाली कांग्रेसको प्रभावित क्षेत्र पाङ र चुवामा अपेक्षाकृत मत कांग्रेसको पक्षमा नखसेको भन्ने सुचनाका आधारमा जोशीलाई एमालेको उमेदवार मेघनाथ सुवेदीले पछाउन सक्ने अनुमान गरिएको छ । उता, एमालेको पकड मानिएको मोदीपारीका वडाहरुमा भने एमालेले सोचे जति मत खसाल्न नसकेका कारण भने एमाले पनि ढुक्क हुने अवस्थामा छैन । उपप्रमुखमा भने कांग्रेसकी सिता लामिछाने बलियो देखिएकी छिन । सहानुभूतिका भोटहरु प्रसस्त उनको पक्षमा खसेको अनुमान गरिएको छ ।

मोदी गाउँपालिकामा भने एमाले बलियो भएको अनुमान छ । कांग्रेसका अध्यक्ष पदका उमेदवार विश्वप्रकास प्रसाईले पार्टी भित्रबाट ठूलो अन्तरघात भएको पुस्टाई गर्दै आफ्नो फेसवुकमा स्टाटस पोष्ट गरेका कारण एमालेका प्रेम शर्मालाई बलियो मानिएको छ । उपाध्यक्षमा भने कांग्रेसकी मिना केसी र एमालेकी सेती महतको प्रतिपस्र्धा बलियो छ ।

उता फलेवासको नतिजा भने आकलन गर्न मुस्किल देखिएको छ । कांग्रेसका गंगा तिवारी र एमालेका पदमपाणी शर्मा वीच निकै कडा प्रतिपस्र्धा भएको अनुमान गरिएको छ । उपप्रमुखमा कांग्रेसकी रेखा गुरुङ र एमालेकी मञ्जु अधिकारी मध्ये अधिकारीलाई बलियो मानिए पनि कस्को पक्षमा कति मत खस्यो भन्ने आम चासोको विषयको रुपमा उक्त नगरपालिकालाई हेरिएको छ ।

महाशिला यस अघि नै एमालेको जीत पक्का भएको गाउँपालिका मानिएका कारण एमालेका कार्यकर्ता ढुक्क देखिएका छन । एमालेका राजु पौडेल र कांग्रेसका उज्वजल गुरुङ प्रतिस्पर्धामा थिए । यसैगरी उपप्रमुखमा एमालेकी गोमताकुमारी क्षेत्री र कांग्रेसकी सृजना मल्लको उमेदवारी थियो ।

विहादीमा त्रिकोणात्मक प्रस्तिपर्धा मानिएपनि अन्ततः कांग्रेस र एमालेको वीचमा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका कमल भुषाल र कांग्रेसका प्रविन गुरुङ अध्यक्षको उमेदवार हुन । एमालेको कमजोर संगठन भएका कारण कांग्रेसको पक्षमा बढि मत खसेको अनुमान गरिएको छ । तेस्रो शक्तिको रुपमा माओवादी केन्द्रका कृष्ण पराजुलीले पनि केहि मत आफ्नो पोल्टामा पारेको अनुमान गरिएको छ ।

पैयू नगरपालिकामा एमाले र कांग्रेसका दुवै उमेदवार लोकप्रिय भएपनि कांग्रेसको पकड क्षेत्र मानिएका कारण एमालेको पक्षमा भन्दा कांग्र्रेसको पक्षमा बढि मत खसेको कार्यकर्ताले विश्लेषण गरेका छन । एमालेका मित्रलाल बस्याल र कांग्रेसका खगेन्द्र तिवारी चुनावी मैदानमा छन ।

जिल्लाका कुल ६१ वडा मध्ये कांग्रेस र एमालेको आ–आफ्नै दावी छ । एमालेले ४० वडामा आफ्नो जीत सुनिश्चित भनेको छ भने कांंग्रेसले पनि सोहि संख्यामा आफ्नो जीत सुनिश्चित भनेको छ । उता, माओवादी केन्द्र भने सवै वडाबाट शुन्य प्रायः हुने सम्भावना छ । यद्यपि केहि वडाका सदस्यहरुमा भने माओवादी केन्द्रका उमेदवारले पनि जित्न सक्ने अनुमान गरिएको छ ।