Print

कुश्मामा बम काण्ड : अनुसन्धानका लागि प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका ४ जना समात्यो

२२ वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बम भेटिएपछि प्रहरीले नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त, जिल्ला सदस्य यज्ञ गौतम र पत्रकार गोपाल जिसीलाई पक्राउ गरेको हो ।

बिहिबार साँझ जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम भएको भन्दै नेपाली सेनाले डिस्पोज गराएको थियो । प्रहरीले पक्राउ गरेका सबैलाई सोधपुछका लागि पक्राउ गरेको र बम राखेको प्रमाणित भएमा आवश्यक कारवाही गरिने बताएको छ ।

जोशीको घरमा बम रहेको भन्दै एक अनलाईनले बुधबार नै समाचार प्रकाशित गरेको थियो । बम भेटिनु भन्दा एकदिन पहिला समाचार प्रकाशित भएको र समाचारमा हालेको फोटो र डिस्पोज गराएको बम एउटै भएकाले घटना शंकास्पद भएको पर्वतका प्रहरी प्रमुख शेखर खनालले बताए ।