Print

पर्वतमा फेरी अर्को जलविद्युत आयोजना बनाउँदै युनाईटेड मोदी

पर्वत २२ वैशाख ।  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको मोदी–२ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाटको तल्लो मोदी–१ निर्माण गरिसकेको पब्लिक लिमिटेड कम्पनीको रूपमा रहेको युनाइटेड मोदीेले अर्को जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

१ अर्ब ८० करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको निर्माण कार्य आगामी असोजदेखि सुरु गर्ने लक्ष्य राखिएको मोदीका कार्यकारी निर्देशक सुधीरप्रसाद तिमल्सिनाले जानकारी दिए । “असोजबाट सुरु गरेर २०७६ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” उनले भने ।

आयोजनाका अनुसार, विद्युत् सर्वेक्षणको अनुमतिपत्र लिइसकेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिने अन्तिम चरणमा रहेको आयोजनाले छिट्टै वित्तीय व्यवस्थापन गर्ने कार्यकारी निर्देशक तिमल्सिनाले बताए ।

२ अर्ब २० करोड लागतमा १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजना चार वर्षअघि निर्माण सम्पन्न गरेको कम्पनीले हालै सर्वसाधारणका लागि सेयर जारी गरेको थियो । कम्पनीले ११ करोड ५० लाख स्थानीयलाई र १७ करोड २५ लाख रुपैयाँ सर्वसाधारणलाई बाँडफाँडसमेत गरिसकेको छ ।