१० वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ ।
माओवादी केन्द्रको रणनीति अनुसार आँफूले नजित्ने ठाउँहरुमा अन्य दलसँग मिलेर जान सकिने भएकाले विभिन्न चरणमा छलफल भएको शर्माले बताउनुभयो । पार्टीले अन्य दलहरुसँग मिलेर चुनाव लड्न सकिने गरि नीति तय गरेकाले स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ उहाँले भन्नुभयो ।
पर्वत जिल्लामा माओवादी केन्द्रले जित्न सक्ने गाउँपालिका तथा नगरपालिका नभएकाले अन्य दलहरुसँग सहकार्य गर्नेगरि विभिन्न चरणमा छलफल चलाइएको बुझिएको छ । पछिल्लो समय आईतबार नेता दिनानाथ शर्माको उपस्थितिमा काँग्रेसको उच्च तहसँग छलफल भएको भएपनि त्यसबाट ठोस निस्कर्ष निस्कन नसकेको बताईएको छ ।
स्रोतका अनुसार काँग्रेस र माओवादी मिलेमा पर्वत जिल्लाका सबै तहहरु जित्न सकिने निस्कर्ष निकाल्दै एमालेसँग भन्दा काँग्रेससँग मिलेमा बढि फाईदा हुने माओवादी केन्द्रको ठम्याई छ ।
विशेष गरि माओवादी केन्द्रले अहिलेको स्थानीय तहमा कुनै स्थान जित्न नसकेमा आफ्नो पार्टीका कार्यकर्ताको मनोबल घट्ने निस्कर्ष निकाल्दै एमालेसँग पनि तालमेतका लागि वार्ता गर्दै आएको छ । काँग्रेस स्रोतका अनुसार कुस्मा नगरपालिकामा काँग्रेसबाट मेयरका दाबेदार रामचन्द्र जोशीसँग कुस्मा नगरपालिकालाई कसरी भागबण्डा मिलाउने भन्ने विषयमा छलफल भएको थियो । छलफल लामो भयो तर ठोस निस्कर्ष भने निस्केन स्रोतले भन्यो ।




