Print

पर्वत काँग्रेसमा संभाबित उम्मेदवारको सुची

१० वैशाख पर्वत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको छ । काँग्रेस पर्वतमा निकै लामो समयदेखि चलिरहेको पौडेल र देउबा लाईनको प्रभाव यस पटक पनि परेको छ ।

काँग्रेस पर्वतको आधिकारीक स्रोतका अनुसार पर्वतमा देउवा पक्षको प्रभाव सबै तहमा पुगेको छ । पछिल्लो समय भएको भागबण्डमा समेत देउबा पक्षले ५ वटा तहमा र रामचन्द्र पौडेल पक्षले २ वटा तहमा पाउने सम्भावना रहेको छ ।

काँग्रेसमा पहिला देखिनै देउबा समूहको नेतृत्व गर्दै आएका नबराज गुरुङले आफ्नो पक्षलाई स्थापित गराउन लामो प्रयास गरेका छन् भने पछिल्लो समय देउबा लाईनमा आएका सांसद अर्जुन प्रसाद जोशी समेत आफ्ना पुराना सहयोगीहरुलाई स्थापित गराउने गरि तयारीमा लागेका छन् ।

साथै रामचन्द्र पौडेल समूहको नेतृत्व गर्ने रामचन्द्र जोशी आँफै कुस्मा नगरपालिकाको मेयरमा लड्ने तयारी गरिरहेकाले उनलाई सहयोग गर्ने शिर्ष नेता नभएकाले समस्यामा परेकाछन् । जोशीलाई समेत देउबा पक्षमा लाग्न दवाव आएको भएपनि उनी भने पौडेल समूहको तर्फबाट नै मेयर पदको उम्मेदवार बन्ने अडानमा लागेकाछन् ।

पछिल्लो समय काँग्रेस स्रोतका अनुसार रामचन्द्र जोशीलाई मेयर पदमा उम्मेदवार बन्न नदिन पुर्व पञ्च नेता डम्बर बहादुर मल्ल समेत लागेकाछन् । उनले काँग्रेस क्षेत्रीय सभापती गंगाधर शर्मालाई मेयर बनाउने लबिङ थालेपछि रामचन्द्र जोशीको सम्भावना समेत न्यून बन्दै गएको बुझिएको छ ।

उता कुस्मा नगरपालिकाको मेयरका दाबेदार बनेका डा. चुडामणी शर्मा समेतलाई पाखा लगाउने सम्भावना देखिएको छ । उनलाई देउवा पक्षले मेयर पदमा उम्मेदवार गराउने तयारी गरेको भएपनि अर्जुन प्रसाद जोशी समेतले गंगाधर शर्मालाई उम्मेदवार बनाउने तयारी गरेपछि डा. शर्माको सम्भावना न्यून बनेको हो ।

काँग्रेस स्रोतका अनुसार पर्वतमा जलजला गाउँपालिका र फलेवास नरपालिकामा बाहेकका अन्य तहमा देउवा समूहले प्रमुखमा दाबी गरेको छ । सोही अनुसार टिकट वितरणको तयारी समेत भएको बुझिएको छ ।

यस्तो छ सम्भावना

जलजला गाउँपालिकामा पौडेल समूहका कृष्ण केसी अध्यक्षमा र देउबा समूहका सिमा पुन उपाध्यक्षमा, कुस्मा नगरपालिकामा देउबा समूहका गंगाधर शर्मा मेयरमा र पौडेल समूहका सिता लामिछाने उप मेयरमा, मोदी गाउँपालिकामा देउबा समूहका विश्व प्रसाईँ अध्यक्षमा र पौडेल समूहका मिना केसी उपाध्यक्षमा टिकट पाउने संभावना रहेको छ ।

त्यस्तै फलेवास नगरपालिकाको मेयरमा पौडेल समूहका गंगाराज शर्मा मेयरमा र देउबा समूहका रेखा गुरुङ उप मेयरमा, महाशिला गाउँपालिकामा देउबा समूहका उज्वल गुरुङ अध्यक्षमा र देउबा समूहका सिर्जना मल्ल उपाध्यक्षमा, पैयू गाउँपालिकाको अध्यक्षमा देउबा समूहका खगेन्द्र तिवारी अध्यक्षमा टिकट पक्का गरिसकेकाछन् भने पौडेल समूहका जसमती गुरुङ उपाध्यक्षमा लड्दैछिन् ।

साथै बिहादी गाउँपालिकाको अध्यक्षमा देउबा समूहका आनन्द भुसाल र देउबा समूहकै देबी खड्का उपाध्यक्षमा टिकट पाउने सम्भावना रहेको बुझिएको छ । सेतोसूर्य अनलाईनबाट