Print

पर्वत जिल्ला अस्पतालमा डाक्टरहरुको मनपरी बढ्दै

३ वैशाख, पर्वत । जिल्लाकै ठूलो अस्पतालको रुपमा रहेको पर्वतको कुश्मा स्थित जिल्ला अस्पतालमा डाक्टरहरुको मनपरी बढदै गएको छ । फितलो ब्यवस्थापनका कारण जिल्ला अस्पतालका डाक्टरहरुले विरामीलाई चेकजाँच गर्न आलटाल गर्ने प्रवृत्ति बढदै गएको हो ।

२४ घण्टे निशुःल्क प्रसुति सेवा प्रदान गर्ने गरी सरकारले डाक्टरहरुलाई जिल्ला अस्पतालमा खटाएपनि उनीहरुले भने कार्यालय समयमा पनि प्रसुति विरामीलाई चेकजाँच गर्न छाडेका छन । आइतबार मात्रै जिल्ला अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेष डा. हिमा देवी छन्त्यालले एक प्रसुति विरामीको चेकजाँच गर्न आलटाल गरेपछि जिल्ला अस्पतालको सेवामा थप प्रश्न चिन्ह उठेको छ ।

कुश्मा नगरपालिका १२ की एक प्रसुति विरामी आइतबार चेकजाँचका लागि कार्यालय समयमै अस्पताल पुग्दा उनले भोलीपल्ट मात्रै चेकजाँच गर्ने उत्तर दिइन । बहिरंग विभागमा १ घण्टासम्म प्रतिक्षा गरेकी प्रसुतिलाई कार्यालय समय सकिएकाले भोलीपल्ट मात्र सेवा दिन सकिने डाक्टर छन्त्यालले बताएसंगै सेवाग्राहीका अभिभावकले अस्पताल प्रशासनसंग गुनासो गरेपछि भने छन्त्यालले बाध्य भएर आइतबार नै सेवा दिइन ।

राज्यले प्रसुति सेवालाई थप प्रभाकारी बनाउन निशुल्क प्रसुती सेवा र प्रसुती सेवा सम्बन्धि विशेष कार्यक्रमहरु ल्याइरहेका बेला जिल्ला अस्पतालका डाक्टरहरुले विरामी प्रति गरेको ब्यवहार प्रति सेवाग्राही रुष्ट बनेका छन । जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डन तथा जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर बुद्धिबहादुर थापाले डाक्टरको ब्यक्तिगत कामका कारण सेवा प्रवाहमा समस्या परेको हुनसक्ने बताउँदै विरामीलाई दिने सेवामा आफूहरुले कुनै कमजोरी नगर्ने प्रतिबद्धता बताए । डाक्टर थापाको निर्देशन पछि सेवा दिएकी छन्त्यालले विरामीलाई गर्ने ब्यवहारका विषयमा यस अघि पनि विरामीहरुले पटक पटक गुनासो गर्दे आएका छन ।

यस अघि पनि जिल्ला अस्पतालमा पुगेका विरामीहरुलाई डाक्टरको सिफारिस भन्दा बेग्लै औषधि दिने, अस्पतालको सरसफाईमा ध्यान नदिने, विरामी चेकजाँचमा वेवास्ता गर्ने विशेषज्ञ डाक्टरले सेवा नदिने जस्ता गुनासोहरु सेवाग्राहीले राख्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस