Print

माओवादी केन्द्रको कुश्मा प्रथम नगर सम्मेलन सम्पन्न, अध्यक्षमा गिरी

२ चैत्र, पर्वत । माओवादी केन्द्रको कुश्मा नगरपालिकाको नगर कमिटि अध्यक्षमा शंकर गिरी सर्वसहमत रुपमा चयन भएका छन् । माओवादी केन्द्रको नगर सम्मेलनले गिरीको नेतृत्वमा ५७ सदस्यीय नगर कमिटि गठन गरेको हो । समितिको उपाध्यक्ष राम पराजुली, सचिव मिनराज केसी, कोषाध्यक्ष राम अधिकारी, सहसचिव सिता परियार रहेका छन् ।

नगर सम्मेलनका प्रमुख अतिथि स्थायी कमिटि सदस्य हरि अधिकारीले जसको एजेण्डा उसको जित हुनुपर्नेमा जोड दिए । उनले माओवादीले उठाएका गणतन्त्र, धर्म्निरपेक्षता, संघीयता र समानुपातिक समावेशीता लगायतका मुद्धाहरुलाई स्थापित गर्न सफल हुनुनै माओवादीको पहिलो जित भएको बताए । अबको चुनावमा एजेण्डा विनाका दललाई भोट दिनुको कुनै पनि औचित्य नरहेको भन्दै काम गर्नेलाई भोट दिनुपर्ने र सोही अनुसार पार्टी नेतृत्वहरु लाग्नुपर्नेमा जोड दिए । अझै पनि शीर्ष दलहरु स्थानीय तहको चुनावको मिति फेरबदल गर्न र कोहि चुनाव रोक्नको लागि लागि परेको भन्दै सचेत नागरिक जाग्नुपर्ने बेला आएको उनको तर्क थियो ।

अधिकारीले संघीय गणतन्त्रको स्थापना र सोही अनुसार नागरिकलाई घरदैलोमा सेवा सुविधा दिने सोचका साथ अघि बढेको भन्दै देशलाई समृद्ध बनाउको लागि पनि माओवादी केन्द्रको जित हुनुपर्नेमा जोड दिए । उनले देशलाई विकासतर्फ उन्मुख गराउनको लागि केन्द्रको विकल्प नभएको भन्दै चुनाव प्रचारप्रसारमा जुट्नुपर्ने बताए ।

पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज नेत्र अधिकारीले माओवादीले काम गर्ने तर जस लिन नजान्ने भएका कारण पनि पछि परेको बताए । उनले ०६४ सालामा पहिलो पार्टी बनेको माओवादी आफूले ल्याएका एजेण्डाबारे जनतामाझ स्पष्ट राख्न नसकेका कारण पनि दोस्रो संविधानसभामा पराजय व्यहोर्नुपरेको भन्दै अबको स्थानीय तहको चुनावमा माओवादीलाई जिताउनको लागि लागि पर्नुपर्नेमा जोड दिए । उनले माओवादीको सोझोपनको अरुले गलत प्रचार गरी फाइदा लिएको भन्दै अब सचेत हुनुपर्नेमा जोड दिए ।

वाइसिएल प्रदेश ४ इन्चार्ज एवं केन्द्रिय सदस्य समुन देवकोटाले वाइसिल अब जाग्नुपर्ने बताए । पार्टीले वाइसिएललाई रोकेका कारण चुप लागेर बसेको भन्दै अब आफूहरु चुप लाग्ने पक्षमा नरहेको बताए । उनले बाघले चार घण्टा शिकार गरी २० घण्टा आराम गर्ने गरेको र वाइसिएलले पनि आराम गरी बस्दा वाइसिएल हरोयो भन्नेलाई अब शिकारमा वाइसिएल निस्कीएर देखाउनुपर्ने बेला आएको बताए । वाइसिएल चुप बसेकै कारण देशका उदण्ड, बलत्कार, चोरी दकैती लगायतका घटनाहरु बढेको भन्दै अब वाइसिएले जाग्ने बताए । उनले अब वाइसिएल जाग्न लागेको भन्दै अब कुनै पनि शक्तिले वाइसिएलको सामाना गर्न नसक्ने बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदिप कुवँर, सुमन देवकोटा, ढाकाराम गौतम, दिपक आचार्य, मानबहादुर पौडेल, मनरुपा सुवेदीले माओवादी केन्द्रलाई देशको पहिलो शक्ति बनाउनको लागि पार्टीका एजेण्डा सहित गाउँगाउँमा पुग्नुपर्नेमा जोड दिए । उनीहरुले अबपनि चुप लागेर बस्ने हो भने त्यसको फाइदा अन्य दलहरुले लिने भन्दै अब यथाशिघ्र चुनावको प्रचारप्रसारलाई तिब्र पार्नुपर्नेमा जोड दिए ।

नगर सम्मेलनमा विभिन्न राजनीतिक दलका आधा दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लब माओवादीबाट राम अधिकारी, नेपाली काँग्रेसबाट प्रदिप सुवेदी, राम बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाबाट पूर्ण बहादुर कुवँर, सुनिल पौडेल, विनोद नेपाली माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस