Print

शिक्षण पेशासंगै कृषिमा रमाउँदै फलेवासका रेग्मी

१८ चैत्र, पर्वत । फलेबास नगरपालिका ३ रुग्दीका कृषक रामकृष्ण रेग्मीकोे बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा र मौसम अनुसारका तरकारीहरु फलेका हुन्छन् । मौसम अनुसार खुल्ला ठाँउमा र हिउँदमा प्लास्टिकको टनेल भित्र उनले तरकारी फलाउने गर्छन ।

आफ्नै गाउँ नजिकैको निम्न माध्यमिक बिद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी बिहान र बेलुकाको समय बारीमै तरकारी गोडमेलमा ब्यस्त भेटिन्छन । बारीमा काउली, टमाटर जस्ता तरकारी हुर्किरहेका छन् । यिनै तरकारीको गोडमेल गर्नु उनको साँझ बिहानको दिनचर्चा जस्तै बनेको छ । उनी शिक्षकको अलवा तरकारी कृषक मात्र नभएर पोल्टी फर्म र गाउँकै होलसेल किराना पसल गर्ने एक ब्यवसायी समेत हुन ।

शिक्षण पेशाबाट आफुले घरपरिबार तथा छोराछोरी लाई पढाउन समेत धौधौ हुने गरेको अनुभब सुनाउँदै उनले अहिले आफ्नो परिबार तथा घरखर्च चलाउन सहज हुने गरेको बताउँछन ।

पछिल्लो ५ वर्षयता उनको परिवारले व्यावसायीक तरकारी खेती गर्दै आएकोछ । वर्षको दुई देखि तीन लाख आम्दानी गर्छ रेग्मीको परिवार । रेग्मीको परिबारले ल्याएकोे यो परिवर्तनले अहिले रेग्मीको घरमा मात्र नभएर शंकरपोखरी रुग्दीका हजारभन्दा धेरै किसानको घरमा यस्तै परिवर्तन आउन थालेको छ ।

बिदेश गएर र्फकेकाहरु समेत अहिले कृषिमा होस या पुशुपालन ब्यवसाय सबै आफ्नो गाउँ आफै बनाउ अभियानमा जुटेका छन् । यसको कारण हो पछिल्लो समय गाउँमा आएको जनचेतना र नयाँ प्रविधिको आत्मसात जसका कारण प्रत्यक्ष रुपमा हजारौं कृषकको जीवनशैलीमा परिवर्तन मात्र आएको छैन ।

अहिले उनको बारीमा हरियो साग, काउली, बन्दा, टोमाटर केराउ लगायतका हरियो सागसब्जीहरु मगमगाइरहेका छन् । उनले बिदेशिने युबालाई लक्षित गर्देै आफुले गाउँमा कृषि क्रान्तिको शुरुबात गरेको बताउन्छन । झण्डै ७० प्रतिशत तरकारीहरु बारीबाटै बिक्री हुने भएपनि बाँकी तरकारी उनले सदरमुकाममा लगेर बेच्दै आउने गरेको बताउँछन । रेग्मीका अनुसार अहिले उनको तरकारी पोल्टी फर्म तथा किराना ब्यवसायबाट मात्रै महिनाको १ लाख देखि दुई लाखको हाराहारीमा कमाई हुन्छ । जसमध्ये खर्च कटाएर सिजनमा १ लाख सम्म बचत हुन थालेको छ ।

नजिकैको बिद्यालयमा अध्यापन गराउँदै आएका रेग्मी देश र परिवार नछोडेरै कमाउने सपना पूरा गर्न पाएकोमा खुशी छन । दुई छोरा र श्रीमतीका साथ खेती किसानी र शिक्षण पेशामा रमाइरहेका रेग्मीलाई माटोको जस्तो मिठो सुगन्ध केहीमा छैन जस्तो लाग्छ । – सुवास लामिछाने

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस