१६ चैत्र, पर्वत । आय आर्जनको प्रमुख बालीको रुपमा लिईने कफीखेती बाट पर्वतमा यस वर्ष मात्रै रु एक करोड भन्दा बढि रकम भित्रिने भएको छ ।
कफीको उत्पादनमा भएको बृद्धीका कारण यस वर्ष विगतका भन्दा ५ प्रतिशत बढि रकम भित्रिने भएको हो ।
गत वर्ष पर्वतबाट रु ९० लाख बराबरको कफी निर्यात भएकोमा यस वर्ष १ करोड भन्दा बढि भित्रिने जिल्ला कफी व्यावसायी संघले जनाएको छ । विगतमा केही सिमित गाविसहरुमा मात्र गरिँदै अएको कफी खेती अहिले जिल्लाका सबै गाविसहरुमा हुन थालेपछि उत्पादन पनि प्रत्येक वर्ष बढ्दै जाने गरेको बताईएको छ ।
गतवर्ष पर्वतबाट उत्पादित कफी कोरिया, जापान, युरोप तथा अमेरिका लगायतका देशहरुमा निर्यात भएकोमा यस वर्ष पनि ति देशका कम्पनीहरुले संझौता गरिसकेकाले बजारको कुनै समस्या नभएको जिल्ला कफी सहकारी संघ पर्वतका अध्यक्ष भवानी प्रसाद शर्माले बताउनुभयो ।
हामीले राम्रो गुणस्तर दिन सकेमा बजारको कुनै समस्या छैन शर्माले भन्नुभयो–उच्च भौगोलिक क्षेत्रको अर्गानिक उत्पादन भएकाले राम्रो सम्भावन रहेको छ । गत वर्षमात्रै २० टन भन्दा बढि उत्पादन भएको कफी यस वर्ष ३० टनसम्म पुग्ने र त्यसबाट जिल्लामा एक करोड रुपीयाँ भन्दा बढि रकम भित्रिने शर्माले बताउनुभयो ।
‘गत वर्षको भन्दा १० प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ,’ उहाँले भन्नुभयो–‘यस वर्ष अनुकुल मौषम भएकाले उत्पादन बढेको हो । अहिले कफी टिप्ने समय भएको र गत वर्षका भन्दा बढि फल लागेकाले कृषकहरु समेत उत्साहित बनेका छन् ।
अहिले ताजा कफीको मूल्य ५० देखि ६० रुपीयाँ रहेको र प्रशोधित कफीको मूल्य भने ३ सय ५० भन्दा माथि भएकाले कृषकहरुले राम्रो आम्दानी गर्ने देखिएको शर्माको भनाई छ । पर्वतमा विगत २ दशकदेखि व्यावसायिक रुपमा कफी खेती हुँदै आएको भएपनि पछिल्लो समयमा कफी खेती गर्ने कृषकहरुको संख्या बढेकाले उत्पादन समेत हरेक वर्ष बढ्दै गएको शर्माको भनाई छ ।





प्रतिकृया दिनुहोस्