Print

विदेशबाट फर्केपछि २५ लाखको लागतमा कृषि फार्म

१२ चैत्र, पर्वत । बैदेशिक रोजगारीलाई एक मात्र आम्दानीको स्रोत बनाएर बिदेशिएकाहरु गाउँ फर्केर धमाधम कृषि र पशुपालनमा सक्रिय भएका छन् । बर्षौसम्म पनि बिदेश बसेकाहरु मेहनत र परिश्रम गर्ने हो भने राम्रो आम्दानी आफ्नै ठाउँमा समेत गर्नसकिने विश्वासका साथ स्वदेश फर्किएका हुन । उनीहरुले गाउँ फर्केसँगै कृषि र पशुपालन ब्यवसाय सुरु गरेका छन् ।

भुकताङ्ले–३ का बालाराम जैसीले बैदेशिक रोजगारीका क्रममा आधा दर्जनबढी मुलुक पुगे । दुबई, कतार, साउदी, रसिया, तुर्केनिस्थान, डेनमार्क, इराक लगायतका मुलुकमा १७ बर्ष बिताएका उनी अन्तिममा आफ्नै गाउँमा लगानी गरेर परिश्रम र मेहनत गर्नुपर्ने निष्कर्षमा पुगे ।

अन्ततः उनी गाउँ फर्केर तरकारी र पशुपालन ब्यवसाय सुरु गरेका छन् । उनले आफु जस्तै कमाउनका लागि बैदेशिक रोजगारीमा गएका र भारतीय सेना प्रहरमिा काम गरी फर्केकासँग मिलेर २५ लाखको लगानीमा भुकताङ्लेमा खुशीमिलन ताजा तरकारी कृषि सहकारी संस्थामार्फत तरकारी र पशुपालन सुरु गरेका हुन ।

५१ रोपनी जग्गा बार्षिक रुपमा ३८ हजार रुपैयाँ भाडा तिर्नेगरी लिजमा लिएर उनीहरुले विभिन्न प्रकारका तरकारीका साथै कुखुरा, बंगुरपालन सुरु गरेका हुन । सुरुमा १५ लाख ६० हजार रुपैयाँ लगानी गरेपनि अहिले आम्दानी समेत लगानी गरेर कुल लगानी २५ लाख पु¥याएको बालाराम जैसीले जानकारी दिए ।

जैसीसँगै भारतीय सेनाको क्याप्टेनबाट निबृत्त लोकबहादुर गुरुङ, कतार र साउदीबाट फर्केका भिमबहादुर मल्ल, बैदेशिक रोजगारीमा जापान गएका तिलबहादुर गुरुङ, त्यस्तै बैदेशिक रोजगारीमै गएका शेखेन्द्र मल्ल, मिनकाजी गुरुङ, काठमाडौमा ब्यापार गर्दै आएका जुक्तमान गुरुङ र स्थानीय भिमबहादुर गुरुङ मिलेर सहकारीमार्फत सामुहिक कृषि र पशुपालन सुरु गरेका हुन ।

चार हजार कुखुरा पालनसँगै विभिन्न प्रकारका तरकारी उत्पादन गर्दै आएका उनीहरुले गाउँमा समेत मेहनत र परिश्रम गर्ने हो भने लाखौ कमाउन सकिन्छ भन्ने सोच नआउदा बिदेशिएको बताउने गरेका छन् । ‘म त अब कसैलाई पनि बैदेशिक रोजगारीमा जानुभन्दा त्यहाँ गएर गर्ने दुख आफ्नै गाउँमा गर भनेर सल्लाह दिन्छु’ जैसीले भने ।

उनले कृषि र पशुपालनबाटै मासिक लाख कमाउने लक्ष्य लिएका छन । ‘मासिक लाख कमाउने योजना बनाएको छु, त्यो पुरा गर्न अफ्ठयारो देखेको छैन’ उनले भने । उक्त सहकारीमार्फत ०६८ सालमै कृषि फार्म स्थापना भएको हो । तर बिचमा केही समय बन्द भएपनि अहिले जैसीकै पहलमा फार्मले गति पाएको छ ।

जिल्ला पशु सेवा कार्यालयले आर्थिक बर्ष ०७२/७३ मा पाँच लाख पाँच हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । कुखुरापालनका लागि उक्त रकम अनुदान दिएको जिल्ला पशु सेवा कार्यालय पर्वतले जनाएको छ ।

त्यसैगरी ०६८/६९ मा जिल्ला कृषि विकास कार्यालयले तीन लाख प्रदान गरेको थियो । ‘हाम्रो ब्यावसायिक तरकारी तथा पशुपालन फार्मलाई सरकारी निकायबाट राम्रो सहयोग भएको छ’ सहकारीका सचिव समेत रहेका जैसीले भने ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस