११ चैत्र, पर्वत । पुलै पुलहरुको नगर भनेर चिएको पर्वतको कुश्मामा अर्को झोलुंग पुल निर्माण हुने भएको छ । स्थानीयले लामो समय देखि माग गरेको कुश्माको खरेहा र ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो ।
जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिव बरालले दिएको जानकारी अनुसार कुल २ करोड २० लाखको अनुमानित लागतमा उक्त पुलको निर्माण कार्य अगाडि बढाइएको छ । झोलुंग पुल निर्माणका लागि पहिलो चरणको लागत इन्टिमेट सहितको डिटेल सर्भे सकिएको उनले जानकारी दिए ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले उक्त सर्भेको रिपोट जिल्ला प्राविधिक कार्यालयमा उपलब्ध गराएको छ । बरालका अनुसार उक्त रिर्पोटलाई ट्रेल व्रिज सर्पोट युनिटको अन्तर्गतको आरटिएपिले प्रमाणित गरेपछि पुल निर्माणको प्रक्रिया थप अगाडि बढ्ने छ । झोलुंगे पुल निर्माणका लागि पुलको प्रारम्भिक लम्बाई ३ सय ५९ मिटर अनुमान गरिएको छ ।
सदरमुकाम कुश्मा बजारबाट ज्ञादी क्षेत्र जोड्ने कुश्मा ज्ञादी झोलुंग पुल पछि उक्त क्षेत्रकै सर्वसाधारणको सहजताका लागि उक्त पुल निर्माण कार्य अगाडि बढाईएको हो । पुल साविकको कुश्मा नगरपालिका ११ खरेहा बाट साविकको कुश्मा नगरपालिका १४ अधिकारी फाँटमा निर्माण हुनेछ । यसले खरेहा क्षेत्रबाट पिपलटारी, कटुवाचौपारी, ठुलिपोखरी, कार्किनेटा र थापाठानाका स्थानीयले प्रत्यक्ष सेवा पाउने छन ।
यो झोलुंग पुलको निर्माणसंगै कुश्मामा ४ वटा नेपालका अग्ला झोलुंग पुल निर्माण हुनेभएका छन । यस अघि कुश्मा ज्ञादी झोलुंगे पुल, बडागाँउ–कैया झोलुंगे पुल र कुश्मा–मुडिकुवा झोलुंगे पुल सञ्चालनमा छन ।
तस्विर : कूश्मा ज्ञादी झोलुंग पुल





प्रतिकृया दिनुहोस्