Print

आन्तरिक एकता सुदृढिकरण र एमाले कार्यकर्ताको आजको कार्यभार

गोविन्द पहाडी

यतिवेला नेकपा एमालेले देशव्यापी रुपमा जनपरिचालन अभियान सञ्चालन गरिरहेको छ । यस अन्तरगत हामी के गर्छौ, एमाले कार्यकर्ताको दायित्व के हो र यसका लागि आन्तरिक एकताको सवालमा यस छोटो आलेखमा चर्चा गरिएको छ ।
यस अभियानमा हामी संविधान निर्माणको क्रममा महिला, दलित, उपेक्षित, जनजाति, आदिवासी लगायतका समुदायका अधिकार सुनिश्चित गर्ने सवालमा र विशेष गरेर समाजवाद उन्मुख राज्यको परिकल्पना गर्ने सन्दर्भमा नेकपा एमालेले खेलेको भूमिका र संविधान जारी भएपश्चात भारतले लगाएको नाकाबन्दी र कथित मधेश आन्दोलनलाई परास्त गरि राष्ट्रिय स्वाभिमान रक्षामा एमालेले खेलेको भूमिकाका वारेमा आम नागरिक तहमा जानकारी गराउनेछौं ।

अव एमालेलाई पहिलो शक्ति बनाउने हो भने माया गर्ने र ईमान्दार कार्यकर्ता मात्र भएर पुग्दैन क्रियाशिल एमाले कार्यकर्ताको आवश्यकता छ । ईमान्दार भएर एमालेको सदस्यता गोजीमा सुरक्षित तरिकाले राख्दैमा एमाले पहिलो शक्ति बन्न सक्दैन । एमालेको केन्द्रिय नेतृत्वले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारले अगाडी सारेका सामाजिक न्यायमा आधारित जनमुखी र प्रगतिशिल कार्यक्रमहरु बुझेर जनस्तरसम्म, घर घरसम्म पुराउने सक्रिय र सचेत एमाले कार्यकर्ताको अथक मेहनतले मात्र हाम्रो पार्टी पहिलो शक्ति बन्नेछ । तव सारा नेपालीको समृद्धिको सपना पुरा गर्ने विन्दुमा मुलुक प्रवेश गर्नेछ ।

हामी पार्टी र राज्यबाट विभिन्न सेवा र राहत आशा गरेर मात्र बस्ने तर त्यसको प्राप्तीका लागि आफनो तर्फबाट कुनै जांगर र क्रियाशिलता नदेखाउने हो भने आफै आएर मुखमा दालभात पर्न सक्दैन । यो यथार्थ बुझेर अव एमाले कार्यकर्ताले झोलामा एमालेले अगाडी सारेका नीति, बजेट, कार्यक्रम र राष्ट्रिय स्वाभिमान रक्षामा खेलेको भूमिका सहितका सामग्री बोकेर गाउं पस्ने बेला आएको छ ।

अरु पार्टी र एमालेमा यतिवेला के फरक छ ? कुन कुन सवाल र मुद्धामा फरक पक्षहरु छन् यसको चिरफार गरेर आम नागरिकलाई बुझाउनु जरुरी छ । एमाले लगायत अरु पार्टीका दस्तावेज र घोषणा पत्रका पानाहरु महिला, दलित, विपन्न, किसान, कर्मचारी, मजदुर, पछाडी पारिएको वर्गको पक्षमा नै काम गर्ने, कार्यक्रम ल्याउने भन्ने प्रतिवद्धताहरुले नै भरिएका छन तर नेकपा एमाले मात्र एउटा त्यस्तो पार्टी हो जसले थोरै अवधि सत्ता सञ्चालनको अवसर पायो की तिनै पछाडी पारिएका वर्गको पक्षमा नीति, कार्यक्रम र बजेट ल्याउने गरेको छ ।

मनमोहन अधिकारीको सरकारले थालनी गरेको आफनो गाउं आफैं बनाऔं कार्यक्रम अन्तरगत गाउंमा आउने बजेटलाई वर्षको पचासौं लाख बनाउन एमाले नै चाहियो, वृद्ध भत्ता, एकल महिला भत्ता बढाउन पनि एमाले नै चाहियो, कर्मचारी शिक्षक र प्रहरी सेनाको तलव बढाउन पनि एमाले नै चाहियो ।

गरिवहरुलाई असाध्य रोगहरुको निशुल्क उपचारको सुविधा ल्याउन, किसानहरुलाई पेन्सन दिन, युवाहरुलाई उद्यमशिल बनाएर स्वदेशमा नै रहने वातावरण बनाउन, दलितहरुलाई स्नातक तहसम्म निशुल्क पढ्न पाउने व्यवस्था लगायतका थुप्रै जनमुखी कार्यक्रम ल्याउन एमाले नै चाहिने रहेछ भन्ने कुरा केपी ओली नेतृत्वको सरकारले पुष्टि गरेको छ ।

नेकपा एमाले सरकारले जनताको पक्षमा ल्याएका यी कार्यक्रम नेपाली जनताका लागि अनुपम कोशेली हुन । यी कोशेलीको असली हकदार एमाले हो र एमालेलाई स्थायी सरकार सञ्चालनको मौका दिन सकियो भने यी सेवा सुविधाहरु थप व्यवस्थित भएर पाउने वातावरण बन्नेछ भन्ने कुरा व्यक्ति र घरसम्म पुराउने दायित्व एमाले कार्यकर्ताहरुको हो ।

अरु दलहरु अनेक प्रकारका जालझेल, भ्रम र फट्याईमा आधारित राजनीति गर्दैछन, यी चुनौतीहरुको सामना एकतावद्ध एमाले भएर मात्र गर्न सकिन्छ । यसका लागि सचेतता जरुरी हुन्छ, चनाखोपन र क्रियाशिलता जरुरी छ । तर एमालेका कार्यकर्ताहरु विभिन्न प्रकारका अन्तरविरोध, मत मतान्तर र पुराना अनुभव र संवन्धहरुका कारण एकतावद्ध हुन नसके जस्तो, विभाजित पो हो की जस्तो अनुभूति आम समर्थकहरुले गर्नुपर्ने स्थिती रहनु हुन्न ।

नेकपा एमालेले आफनो संगठन पद्धतिमा लोकतान्त्रिक प्रकृया अगिंकार गरेका कारण स्वभाविक रुपमा नेतृत्व चयन गर्दा विभिन्न समूहहरुमा विभाजित हुनुपर्दछ । अधिवेशनका बेला कार्यकर्ताहरु आफुले छनौट गर्न चाहेको नेताका आधारमा विभाजित हुन पाउंछन । तर वर्षौमा आउने आवधिक अधिवेशनमा भएको नेतृत्व चयनको प्रकृयामा राखेको मतका आधारमा दैनिक पार्टी काममा त्यसैको प्रतिविम्व पार्टी निर्माणको बाधक पक्ष हो ।

नेताहरुले कार्यकर्तालाई आफु र आफना एजेण्डा तर्फ आकर्षित गर्ने अधिवेशनको माहौलमा हो । अधिवेशनहरुले एउटा प्रकृया पुरा गरेर नेतृत्व छनौट भईसकेपछि त्यस अवधिका लागि सोही नेतृत्वलाई मानेर जानुपर्दछ , मान्नैपर्दछ । यो संगठनात्मक सिद्धान्तको अनिवार्य शर्त हो । हामी प्रकृयामा सहभागी हुन्छौं अनि नतिजा स्विकार गर्न तयार हुंदैनौं । हामी आवेगमा आउंछौं र भन्छौं ‘म मान्दिन’ ।

हो, हाम्रो संगठनका काम र अधिवेशनहरुलाई विधिसम्मत बनाउने, पारदर्शि बनाउने र विभिन्न प्रकारका गलत रवैया, तरिकाहरुलाई निशेध गर्नुपर्ने सवाल पनि गम्भिर प्रश्न हाम्रा सामु छ । तर त्यसपछि स्थानीय पार्टी काममा ति सन्दर्भहरु पटक पटक उल्झनको रुपमा आउनु आम एमालेका समर्थक र एमालेलाई पहिलो पार्टी बनाएर सुखका दिन भोग्ने सारा नेपालीको सपनाका लागि पनि बाधक हुनेछन् ।

हामी माक्र्सवादीहरु हौं, वैचारिक संघर्ष माक्र्सवादको यथार्थ गुण हो । वैचारिक बहस भईरहन्छ, हुनुपर्दछ तर संधै आंखा चिम्लेर कुनै अमुक समूह वा गुटमा अडिनु गैर माक्र्सवादी अराजक चरित्र हो । विचारको दरिद्रता हो । यो निरपेक्ष गुटले पार्टी संगठनलाई अवसरवादीहरुको झुण्ड मात्र बनाउंछ । त्यसकारण स्थानीय अन्तरविरोधहरुको विधिसम्मत व्यवस्थापन गर्नु पर्दछ ।

लामो समयसम्म बैठक नबस्ने, आ आफनै बुझाई र धारणाहरु अगिंकार गर्ने, सो अनुरुपकै संवन्ध र व्यवहार गर्ने प्रवृत्तिले सामान्य मतान्तर र मुद्धाहरुले संगठनलाई भने ठुलो प्रभाव पार्ने तहमा पुग्नु हुंदैन ।
पार्टी एकतावद्ध हुंदा हाम्रो सामथ्र्य बढ्छ, जमेर प्रतिस्पर्धीहरुसंग मुकाविला गर्न सकिन्छ भन्ने बुझेर पनि स्थानीय तहका विद्यालय, उपभोक्ता समिति, सहकारी, वन समूह जस्ता सामुदायिक कामहरुको व्यवस्थापन जिम्मेवारी लिने सन्दर्भमा कार्यकर्ताहरु २/३ तिर विभाजित हुने अवस्था किन छ ? यो नेकपा एमालेको आन्तरिक एकता सुदृढिकरणका लागि गम्भिर सवाल हो । नियमित बैठक र छलफल नहुंदा उल्टो अरुका भ्रमहरुबाट भ्रमित भएर आफनो पार्टी र नेता तथा स्थानीय कमरेडहरु भन्दा अरु पार्टीका नेता कार्यकर्ता आफना जस्ता, नजिकका जस्ता लाग्ने वातावरण पार्टीको आन्तरिक एकताका लागि अर्को गम्भिर चुनौती हो ।

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तो अरु दलले कुहेको पिठो बेच्न खोज्दैछन, एमाले सरकारले नै वृद्धि गरिदिएको बजेट बांडेर एमाले विरुद्ध नै गलत प्रचार गर्न खोज्दैछन तर हामी एमाले सरकारले ल्याएका कोशेली रुपी बजेट, राहत र सेवाका कुरा घर घरसम्म पुराउन किन ढिला गर्दैछौं ?

एमालेको सदस्यता लिएर, झण्डा बोकेर वा भोट मात्र एमालेलाई दिएर एमाले कार्यकर्ताको दायित्व पुरा हुंदैन । केन्द्रमा जनताको पक्षमा सुन्दर नीति कार्यक्रम सार्वजनिक भएको यो ऐतिहासिक अवसरलाई सदुपयोग गरेर स्थानीय अन्तरविरोधहरुलाई सके समाप्त पारेर नसके व्यवस्थापन गरेर आम जनताको घरदैलोसम्म पुग्नु एमाले कार्यकर्ताको अनिवार्य जिम्मेवारी हो ।

लेखक नेकपा एमाले पर्वतका उप सचिव हुन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस