Print

पर्वतमा महिला नेतृ पाउनै गाह्रो : को-को छन स्थानीय चुनावमा सम्भावित महिला उमेदवारहरु ?

५ चैत्र, पर्वत । सरकारले तोकेको आगामी वैशाख ३१ गतेको निर्वाचन आउन अव २ महिना पनि बाँकी छैन । मिति नजिकिदै जाँदा उमेदवारहरुका सम्भावनाका विषयमा विभिन्न दृष्टिकोणका ब्याख्या विश्लेषण गर्न थालिएको छ ।

गाउँ पालिका र नगरपालिका दुवैमा प्रमुख या उपप्रमुखमा महिला अनिवार्य हुने गरी संविधानले निर्दिष्ट गरेका कारण महिला उमेदवारको चर्चा ब्यापक हुन थालेको हो । संविधानले दुई पदाधिकारीमा कम्तिमा एक महिला हुनै पर्ने ब्यवस्था गरेको छ । एक भन्दा बढि दुईवटा भने हुनसक्नेछन । तर कुनै पनि दलले दुवै पदमा पुरुषलाई चुनावमा उठाउन भने पाउँदैनन । यो संवैधानिक प्रावधानका कारण महिलाले आफ्नो अधिकार स्थापीत गराउन पाउने भएका छन ।

गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्र होइन् वडामा पनि महिला आरक्षण सुरक्षित गरिएको छ । प्रत्येक स्थानीय तहका वडाहरुमा वडा अध्यक्ष सहित ५ जना निर्वाचीत हुनेछन । त्यस मध्ये वडा अध्यक्ष बाहेका ४ वटा सदस्य पदमा कम्तिमा २ वटा महिला हुनै पर्ने गरी ब्यवस्था गरिएको छ ।

कम्तिमा २ जना महिलामध्ये पनि एक जना दलित महिलालाई आरक्षित नै गरिएको छ । यसरी हेर्दा एउटा वडामा २ जना कम्तिमा महिला र स्थानीय तहको नेतृत्व दुई पदमा एकमा महिला अनिवार्य गरिएको देखिन्छ । महिलालाई आरक्षणमा सुनिश्चित गरिएपनि नेतृत्वदायी भूमिकामा हालसम्म पनि महिलाहरु अधिकांश क्षेत्रमा आउन नसकेको देखिन्छ ।

जिल्लामा ठूला दलहरु कांग्रेस, एमाले र माओवादीमा हेर्दा महिला संख्या ज्यादै न्यून देखिन्छ । क्षमतावान भएर पनि कतिपय महिलाहरु अवसरबाट बञ्चित भएका कारण पनि महिलाको क्षमता बृद्धि हुन नसकेको देखिन्छ । कतिपय अवस्थामा महिलाहरु अग्रसर नै नहुने भएका कारण पनि जिल्लाका सवै स्थानीय तहमा सवै पार्टीका योग्य, सक्षम र सबल महिला नेतृलाई चुनावमा उठाउन हम्मे हम्मे पर्ने सहज अनुमान गर्न सकिन्छ ।

नेपाली कांग्रेस

संख्यात्मक हिसावमा जिल्ला भरी नेपाली कांग्रेसमा सक्रिय र नेतृत्वदायी भूमिकामा महिलाहरुको संख्या न्यून देखिन्छ । मिना केसी मोदी गाउँपालिकामा सम्भावित उमेदवार हुनसक्छिन । उनी नेपाली कांग्रेसमा लामो समय क्रियाशिल महाधिवेशन प्रतिनिधि समेत हुन । नेपाल महिला संघकी अध्यक्ष जोगमाया प्रसाइ र बाटुली पौडेल पनि मोदी गाउँपालिकाकै हुन । आगामी निर्वाचनमा उनको पनि सम्भावना रहनसक्छ ।

लालकुमारी सिके कुश्मा नगरपालिका क्षेत्रकी नेतृ हुन ।  यसैगरी मिना कर्माचार्य, सिता लामिछाने, सिता आचार्य पनि नगरपालिका क्षेत्रका क्रियाशिल नेतृहरु हुन । नगरपालिकामा उनीहरु नेतृत्वको आकाक्षी हुनसक्नेछन ।

नेपाली कांग्रेसमा छोटो समयमा अग्रभागमा देखिएकी राधा देवी कुवंर क्षेत्री फलेवास नगरपालिकाको प्रमुख पदको दावेदारको रुपमा अगाडि आउने सम्भावना छ । महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएकी उनीसंगै फलेवासमा, रेखा गुरुङको पनि सम्भावना छ । जिल्लाका अन्य गाउँपालिकाहरुमा भने चर्चामा आएका महिला उमदेवारहरुको खडेरी नै छ । केहि नेपाली कांग्रेसमा लामोसमय आस्थावान र केहि नेता गणका श्रीमतीहरुलाई चुनावको संघारमा अगाडि सार्ने देखिन्छ ।

नेकपा एमाले

नेकपा एमाले भित्र पनि अरु पार्टीको तुलनामा केहि स्थापीत महिला नेतृहरु छन । नेत्रकला सुवेदी, सम्झना अधिकारी, हिमा अधिकारी लगाएतका महिला नेतृहरु जलजला गाउँपालिका छन । उनीहरु जिल्ला स्तरका विभिन्न कमिटिमा समेत सक्रिय बनेका कारण कुनै न कुनै पदमा उनीहरुका दावा र उमेदवार रहनसक्छ ।

उता, कुश्मा नगरपालिकामा सरीता भण्डारी सरु, कमला पन्त, मुगा पोखरेल जिल्ला नेतृत्वसम्म आइपुगेका नेतृहरु भएका कारण उनीहरुको उमेदवारीको सम्भावना छ । एमालेमै क्रियाशिल सरस्वती भण्डारी हाल पार्टीका सक्रिय गतिविधिहरुमा सहभागी छैनन । यद्यपि महिला नेतृत्वको सबालमा उनको आकाक्षा पनि रहनसक्नेछ ।

मोदी गाउँपालिका भने सेती महत, हिरादेवी शर्मा मध्ये एकले गाउँपालिकाको नेतृत्वदायी भूमिकामा उमेदवारी दिनसक्ने सम्भावना छ ।

फलेवास नगरपालिका भने मञ्जु लम्साल जिल्ला कमिटिका सचिवालय सदस्य सम्म पुगेका कारण उनको नेतृत्व अगाडि देखिन्छ । उक्त क्षेत्रमा शारदा पौडेल, केशा परियार, सुरक्षा लामिछाने, धनकुमारी भुषाल, कविता विक, बरमिला पन्त नेतृत्वकर्ता भएका कारण उक्त क्षेत्रमा महिलाहरुको सहभागीता उत्साहजनक देखिन्छ ।

पैयू गाउँपालिकामा सावित्रि तिवारी, तारा भुषाल, झकीकला काप्ले, गोमता शर्मा लगाएतको उमेदवारीले स्थान पाउने सम्भावना छ ।

डम्मर कुमारी गुरुङ एमालेकी पुरानी र अनुभवी नेतृ भएका कारण बिहादी गाउँपालिकामा उनले नेतृत्वमा आशा गरेमा एमालेले उनलाई नेतृत्वदायी भूमिका दिनसक्नेछ ।

महाशिला गाउँपालिकामा भने एमालेमा तारा गुरुङ सक्रिय छिन । अरु पार्टीको तुलनामा एमालेमा महिला नेतृत्वहरु सक्रिय रहेको भने देखिन्छ । उनीहरु मध्येका सक्रियहरुले यस पटकको स्थानीय तहको निर्वाचनमा निर्णायक उमेदवार बन्ने सम्भावना देखिन्छ ।

अन्य पार्टी

माओवादी केन्द्रमा कुश्मा नगरपालिकामा मनरुपमा सुवेदी सभासदमा समेत उठेकी भएका कारण उनले नेतृत्वमा आशा गरेमा सम्भावना देखिन्छ । लामो समय देखि सामाजिक गतिविधिहरुमा सक्रिय कुश्मा नगरपालिकाकी मानकुमारी गिरी राप्रपामा आस्थावान नेतृ हुन । उनी अरुदलको समेत सहयोग भएमा उमदेवारको आकाक्षीमा देखिन सक्छिन । नयाँशक्तिमा सक्रिय देवि लामिछाने राजनीतिसंगै विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय नेतृत्व हुन ।नयाँशक्तिको तर्फबाट कुश्मा नगरपालिकामा उमेदवारीको नेतृत्व लिनसक्ने देखिन्छ । फलेवास नगरपालिकामा नयाँ शक्तिको तर्फबाट कमला भण्डारी सापकोटा पनि नेतृत्वदायी भूमिकामा दावा गर्ने सम्भावना छ ।

बाँकी स्थानहरुमा जिल्ला तहको नेतृत्वमा पुगेका महिलाहरुको संख्या ज्यादै न्युन भएका कारण पनि पार्टी भित्र प्रमुख र उपप्रमुख मध्ये एक जनालाई उमेदवार बनाउन पनि हम्मे हम्मे देखिन्छ । अधिकांश स्थानीय तहमा महिलालाई उप प्रमुखको रुपमा पार्टीहरुले अगाडी बढाउने सम्भावना भएका कारण पनि महिलाहरुको उमेदवारीलाई खास चासोको रुपमा हेरिएको छैन । यद्यपि केहि महिला नेतृहरुले भने उपप्रमुख भन्दा पनि प्रमुख नै हुने गरी आन्तरीक तयारी भने गरीरहेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस