२ चैत्र, पर्वत । दक्षिण पर्वतको उरामपोखरा गाविसस्थित उरामपोखरा स्वास्थ्य चौकीमा छाती जोडिएका दुईवटा बच्चा जन्मिएका छन् ।
सो गाविसको वडा नं. ३ गेप्ताङकी २९ वर्षिय अनिता सुनारले छाती टाँसिएको अवस्थाका दुईवटा बालिकालाई जन्म दिएकी हुन् । दुईवटा टाउँको, चारवटा हात, चार वटा खुट्टा, नाईटो १ वटा भएको बच्चा मृत अवस्थामा जन्मिएको स्वास्थ्य चौकीका प्रमुख सिनीयर अहेव जिवनकुमार तिवारीले जानकारी दिनुभयो ।
चैत २६ गतेको लागि सुत्केरी हुने दिन भएपनि सोमवार बेलुकादेखि व्यस्था लागेपछि विहान स्वास्थ्य चौकीमा लगिएको थियो । विहान पौने १२ बजे मृत अवस्थामा दुईवटा बालिकाको जन्म भएको तिवारीले जानकारी दिनुभयो । तर आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
गर्भवती सुनार विहान स्वास्थ्य चौकी पुगेर जाँच गर्दानै बच्चाको स्वास्थ्य त्यति राम्रो नभएको र रिफर गर्न खोजिएपनि परिवारले आर्थिक र यातायातको समस्या देखाउँदै सोहि स्थानमा सुत्केरी गराउन आग्रह गरेका थिए ।
सहज रुपमा जन्मिएपनि स्वास्थ्यअवस्था भने पहिलेदेखिनै खराब रहेको पाइएको अहेब तिवारीले जानकारी दिनुभएको छ । यस्तो खालको घटना अपवादका रुपमा हुने र पर्वत जिल्लामा सम्भवत पहिलोपटक यस्तो बच्चा जन्मिएको पनि उहाँले जानकारी दिनुभएको छ । – लक्ष्मण सापकोटा





प्रतिकृया दिनुहोस्