Print

पर्वतका नगरपालिका र गाउँपालिकामा प्रमुख खटाइयो (प्रमुखहरुको नामावली सहित)

३० फागुन, पर्वत । संविधानले गरेको व्यवस्था बमोजिम आइतवारदेखि स्थानीय तह कार्यान्वयनमा गएको छ । कार्यान्वयन स्वरुप पर्वतमा अब दुई वटा नगरपालिका र पाँचवटा गाउँपालिका कायम भएका छन भने सबै गाबिस र नगरपालिका र जिल्ला बिकास समिति खारेज भएका छन ।

पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका कायम भएका हुन् । जलजला, मोदी, महासिला, पैञ्युँ र बिहादी गरी पाँच गाउँपालिका कायम गरिएको छ । भने साविकको कुश्मा नगरपालिका र फलेवास गरी दुई वटा नगरपालिका कायम गरिएको छ ।

यसैबीच जिल्ला समन्वय समितिले सोमवार सवै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाएको छ । अहिले कार्यरत गाबिस सचिबहरु मध्ये सबैभन्दा सिनियरलाई खटाउने योजना अनुसार फलेवास नगरपालिका र अन्य पाँच गाउँपालिकामा प्रमुख सहित कर्मचारी खटाइएको प्रमुख स्थानिय बिकास अधिकारी बिष्णु भुसालले जानकारी दिए ।

स्थानिय विकास आधिकारी भुसालका अनुसार कुस्मा नगरपालिकाको कार्यालय साबिकै कुस्मा नगरपालिकामा कायम हुने भएको छ भने त्यसको प्रमुख अहिलेकै कार्यकारी अधिकृत कुमानसिंह गुरुङ्ग रहने भएका छन् । त्यस्तै नयाँ बनेको फलेबास नगरपालिकामा भने केन्द्र खानीगाउँ गाबिसको कार्यालय कायम भएको छ ।

फलेबासमा अहिले अधिकृतस्तरको कर्मचारी नभएका गाबिस सचिब मध्ये सिनियर कार्किनेटा गाबिसका सचिब चिन्तामणी शर्मा गौतमलाई प्रमुखको रुपमा खटाइएको छ ।
यसैगरी उत्तरको जलजला गाउँ पालिकाको केन्द्र माझफाँट गाबिसको कार्यालय कायम भएको छ । उक्त गाउँपालिकाको प्रमुखमा बाँसखर्कमा कार्यरत सचिब भिमप्रसाद अर्यालय प्रमुखको रुपमा खटिएका छन् ।

मोदी गाउँपालिकाको केन्द्र देउपुर गाबिसको कार्यालयलाई कायम भएको र उक्त गाउँपालिकामा प्रमुखको रुपमा राम्जादेउराली गाबिसमा कार्यरत सचिब भुमिराज शर्मालाई खटाइएको समन्वय समितिले जनाएको छ । यता महासिला गाउँपालिकाको केन्द्र बालाकोट गाबिस कार्यालय कायम गरिएको र तत्कालका लागि कार्यालय प्रमुखमा भोक्सिङमा कार्यरत सचिब कृष्णप्रसाद रिजाललाई जिम्मेवारी तोकिएको छ ।

पैञ्यु गाउँपालिकाको केन्द हुवास गाबिसको कार्यालय कायम भएको छ भने प्रमुखको रुपमा भोर्ले गाबिसमा कार्यरत सचिब कुलप्रसाद लामिछानेलाई खटाइएको छ । यस्तै बिहादी गाउँपालिकाको केन्द्र वहाकी गाबिसको कार्यालयमा कायम रहने र गाउँपालिकामा बर्राचौर गाबिसमा कार्यरत गाबिस सचिब कृष्णप्रसाद पौडेललाई प्रमुखको रुपमा खटाईएको समन्वय समितिका संयोजक स्थानिय पिवकास अधिकारी भुसालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस