२४ फागुन, पर्वत । उपराष्ट्रपति नन्दकिशोर पुनले जनयुद्ध कालमा जिल्ला आक्रमणको रेक्की गर्न आफू पर्वत पटक पटक आएको खुलासा गरेका छन ।
मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत महिला महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले युद्धकालीन अवस्थामा जिल्ला आक्रमणको तयारीका सन्दर्भमा आफू पर्वतको सिडियो कार्यालयमा समेत पटक पटक पसेको समेत उनले खुलासा गरे ।
आफूहरुले गरेको जनयुद्ध सार्थक जनयुद्ध रहेको भन्दै पुनले शान्ति प्रक्रियामा आएपछि भने अव देशले स्थिरता तर्फ धकेलिनुपर्ने बताए । महोत्सवको उदघाटन मन्तब्यका लागि ४ पृष्ठलामो मन्तब्य लेखेर ल्याएका उपराष्ट्रपति पुनले लिखित मन्तब्य पढिसकेपछि यस्तो खुलासा गरेका हुन ।
कार्यक्रममा बोल्दै पुनले २०६४ र ०७० सालको चुनावको वातावरण बनाउन मिडियाले उलेख्य भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा पनि स्थानीय तहको निर्वाचनको वातावरण बनाउन मिडियालाई आग्रह समेत गरे । निष्पक्ष, स्वतन्त्र र जनताप्रति जवाफदेहि हुँदै निर्वाचनको वातावरण बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानले तोकेबमोजीमका सवै खाले चुनाव समयमा हुनुपर्ने उनले बताए ।
हरेक मतदाताले स्वतन्त्रतापूर्वक आफूले चाहेको उम्मेदवारलाई मतदान गर्ने अधिकार रहेको भन्दै सवै खालका असन्तुष्टि, असमझदारीलाई आपसी संवाद र सहमतीको माध्यमबाट हल गर्न समेत उनले आग्रह गरे । शक्तिशाली स्थानीय तहमा आफ्नो जनप्रतिनिधि छान्ने चुनावको मौकामा भाग लिन सवैलाई उनले अनुरोध समेत गरे ।





प्रतिकृया दिनुहोस्